अविवाहित मन्त्री : जसले कहिल्यै विहे गर्ने छैनन्

विश्वास खड्काथोकी

प्रेमप्रति शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलेको उच्च सम्मान छ । यसअर्थमा की उनले बुझेको प्रेमले भन्छ, ‘प्रेम हृदयको उच्चत्तर अनुभुति हो ।’

जीवनको कुनै कालखण्डमा गिरिराजमणिले यो उच्चत्तर अनुभुति गरे वा गरेनन् ? यसबारे घोत्लीने रुची छैन उनीमा । तर, नघोत्लिकनै देखिने कुरा के भने उनी यो ६० वर्षको उमेरसम्म अविवाहित रहे ।

अव त विवाहको सम्भावना ट¥यो हैन ?

प्रश्नले गिरिराजमणिलाई हसाउँछ । हाँसेरै बोल्छन्, ‘म संक्रिय राजनीतिक जीवनमा छु । गर्नुपर्ने अरु नै कामहरु छन् । हाम्रा प्रारम्भिक राजनीतिक उदेश्यहरु त अहिले पनि यथावत नै छन् जस्तो लाग्छ ।’

यति बोलेपछि गिरिराजमणिले ट्रयाकको खल्तीबाट रुमाल झिके र मुख छोपे । अनि खोके, ‘खक्क ।’ उनको शरिरले हल्का औषधीको बास्ना छोडेको छ ।

यो शनिवारको दिन गिरिराजमणि क्वाटरमै छन् । स्वर्गिय मदन भण्डारीले उहिल्यै भनेका थिए, ‘राजनीतिमा थकाई भन्ने सब्दावली हुँदैन ।’ क्वाटरमै भए पनि गिरिराजमणि दिनभर भेटघाटमै व्यस्त । व्यस्त दैनिकी, हल्का विरामी !

आखिर परिवार चाहिने भनेकै यस्तै बेलामा त हो नी ! होइन ? यति बेला गिरिराजमणिका श्रीमति र सन्तानले उनलाई हेरचाहा गरेको कल्पनामा छु । फगत कोरा कल्पना ।

‘मसँग आधारशिलाका साथीहरु हुनुहुन्छ । यहाँको सम्पूर्ण व्यवस्थापन उहाँहरुले नै गर्नुहुन्छ । आधारशिला नै मेरो घर हो । परिवार हो’, गिरिराजमणिको वाक्य नसकिदैन ढोका खोलिन्छ । घ¥याक्क । एक अधबैशे पुरुषको हातमा काटेको फलफुल र तातो पानी देखिन्छ । असोजको महिना । मौसम चिसिदै छ । चीसोको राहत – तातो पानी ।

ती अधबैशे पनि आधारशिलाकै एक सदस्य हुन् । आधारशिला आर्थात ४९ जनाको सगोल परिवार । कोही सहिदका बच्चा, कोही कार्यकर्ता नेताका । आधारशिला आर्थात १५ परिवारको एउटा संयुक्त परिवार ।

०००

सम्भवत गिरिराजमणिले जीवनमा सबैभन्दा बढी सामना गरेको प्रश्न हो, ‘विवाहा ।’ यही प्रश्न बोकेर उनीसम्म पुग्दा गिरिराजमणि उत्साहित थिएनन् । र, पनि कुरा त जसै गर्नु नै थियो ! यस मानेमा की राजनीतिक नेताका हर कुरा सरोकारका विषय बन्छन् । चासो साथ हेरिन्छन् ।

अकास्मात गिरिराजमणिले आफ्नो बाबालाई सम्झीए ।

बाबाले गिरिराजमणिको विहे गराउन कम्ति मेहनत त गरेका थिएनन् । विवाहबारे यति भनजे की भन्दाभदै थाके । तर, उनको आशा थाकेको थिएन । सम्झाउनकै निम्ति फरक फरक मान्छे पठाइराख्थे । नेपाली हरेक बुवा आमाको जीवनमा एउटा महत्वपूर्ण सम्पना हुन्छ, छोराछोरीको विहे गर्ने र नाती–नातिना काखमा खेलाउने ।

अहँ, गिरिराजमणि माने पो !


गिरिराजमणिका सात दाजुभाई । दुई दिदी बहिनी । मात्र गिरिराजमणि अविवाहित । बुहारि भित्राउन नपाएको थकथकी थियो बाबालाई ।

यता गिरिराजमणि तेस्रो पटक मान्त्री बनेका थिए । स्वास्थ्य मन्त्री । तर, उनले बाबाको आशिर्वाद थाप्न घर पुग्ने फुर्सद पनि पाएका थिएनन् । योजना चाही बनाएका थिए, एक दुई दिनमै घर जानुपर्ला बुवालाई भेट्न ।

उनी त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा पुगेका थिए गिरिराजमणि । त्यहीँ उनले अप्रत्याशित खवर सुने । त्यो थियो, आफ्नै बाबाको मृत्यूको खवर ।

विहेलाई सम्झाइरहने बाबा नरहेपछि गिरिराजमणिले विहे र बाबा एकै पटक सम्झीए । बुवा–आमालाई गिरिराजमणि पोखरेलको विहे बाहेक अर्को ठूलो चिन्ता के थियो होला र ! तर, सिद्धान्तमा दौडेको मानिसलाई भावनाले पर्गेल त्यति सजिलो हुँदैन ।

के त्यो क्षण विहे नगरेकोमा पश्चताप लागेन ?

‘पश्चताप त धेरै कडा शब्द भयो’, प्रश्न नसकिदै गिरिराजमणिको जवाफ खस्यो । कडा जवाफ ।

०००

अझै पनि बेला बेला विहेको प्रश्नको जवाफ दिइरहनुपर्छ गिरिराजमणिले । साथीहरु भन्छन्, ‘विवाह गर्ने होइन ?’ कतिले भन्छन्, ‘जोडि मिलाई दिन्छु, पात्र खोजिदिन्छु ।’

गिरिराजमणि जवाफ दिन्छन्, ‘अब त उमेर पनि त गैसक्यो नी !’ गिरिराजमणिको लागि उमेर त एक बहाना हो । चाहाना त प्रश्नको मुख बन्द गर्नु मात्र हो ।

गिरिराजमणिको विवाहसँग कुनै दुश्मनी भने छैन । दुश्मनी हुन्थ्यो भने किन थुप्रै साथीहरुको केटी माग्नेदेखि बरौनी गर्नेसम्मको काम फत्ते पार्थे होला र !

गिरिराजमणि भन्छन्, ‘विवाहको लागि मैले प्रोत्साहन नै गर्छु । तर, प्रेममा आधारित विहे गर्नुस् । प्रेम एक शक्तिशाली रसायन हो ।’

उनलाई राम्रोसँग थाहा छ की विपरित एकताको आधारमा नै संसार चलेको छ । यो प्राकृतिक नियम हो । जैविक मानशिक आवश्यकताको दृष्टिले विवाहलाई निकै महत्वपूर्ण छ । नीजि सम्पत्तिको रक्षा, वंश जारि राख्ने आधार पनि हो यो । विवाह एउटा संस्था हो, सामाजिक मान्यता दिने पद्धति हो ।

र, पनि उनी आफु चाही किन विहे गरेनन् ?
लेखक विश्वास खड्काथोकी । 

‘आन्दोलन भन्दाभन्दै यहाँसम्म आइपुगियो । रिअल कम्युनिष्ट आन्दोलनबाट प्रवाहित भएर हिडेको हुँ म । सामाजिक परिवर्तनमा हिडियो, त्यही मेजर भयो । कतिपय संयोगका कुरा पनि छन् । समयमा साहास पनि गरिएन’, धाराप्रवाह बोलेपछि गिरिराजमणिले विहे ‘च्याप्टर क्लोज’ गर्ने संकेत गर्छन् ।

युवतिसँग लभ गरेर बरालिने उमेरमा उनी विपि कोइराला, निनु चापागाइ, अरिम, रामेश, मञ्जुलहरुका भाषण, गीत सुन्न खोटाङबाट झापासम्म पुग्थे । लभ लेटर लेख्ने समयमा राल्फा आन्दोलनको पत्रिकामा कविता लेख्थे । प्रेमीकालाई गिफ्ट बोक्ने उमेरमा झोलामा क्रान्तिका राता किताव बोकेर हिड्थे, पुस्तकालय र नाइट बसमा पढ्थे ।

साहित्यप्रति उनको अचम्मको मोह थियो, ‘मैले कविता लेख्थिन भनेँ, राजनीतिमा यहाँसम्म आइपुग्ने थिएन होला । तर, धेरै भयो कविता नलेखेको ।’ किताव र कविताहरु पनि हुन्, गिरिराजमणिलाई विहे विर्साइदिने ।

०३७ सालमा उनी स्नातकोत्तर अध्ययन गर्दै थिए । पढ्दापढ्दै उनी नेपाल कम्युनिष्ट पार्टीको होलटाइमर कार्यकर्ता भए । जीवनलाई राजनीतिमा समर्पित गरे, व्यवस्था परिवर्तनको यात्रामा निस्के ।

०४७ मा एकताकेन्द्र गठन भयो । जसको मानबहादुर कर्मचार्य संस्थापक अध्यक्ष थिए । महासचिवमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थात कमरेड विश्वास । रुपलाल विश्वकर्मालगायत नेता थिए । महाधिबेशन भयो । जनयुद्धमा जाने वा नजाने कार्यनैतिक विषय बन्यो । गिरिराजमणिहरु पनि जनयुद्धको पक्षमै थिए । तर, चिनिया मोडेलको पक्षमा थिएनन् । प्रचण्डहरु युद्धमा होमिए । निर्मल लामा, निनु चापागाई नरबहादुर कर्मचार्य, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’हरु गएनन् ।

गिरिराजमणि अनेरास्ववियुको केन्द्रिय सदस्य हुँदै दुई कार्यकाल अध्यक्ष बने । तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको बाम मोर्चाको केन्द्रिय सदस्य हुँदै अखिल नेपाल जनवादी युवा संघको संस्थापक अध्यक्ष बन्न पुगे । जनमोर्चा नेपालको केन्द्रिय सदस्य हुँदै केन्द्रिय उपाध्यक्षसम्म बनेर पार्टी हाँके ।

‘एक पटक पोलिटब्युरो नै अविवाहितहरुको थियो । नरवहादुर दाई, क. प्रकाश, सोनामसाथी म लगायतका कमरेडहरु’, गिरिराजमणि हास्छन् । पावरवाला चस्मा माथिको छेकोबाट हेर्दै भन्छन्, ‘साथीहरुले हामीलाई जिस्क्याउनुहुन्थ्यो, ‘पार्टीले सर्त नै राखेर पोलिटव्युरो बनाएको छ की क्याहो ।’ नारायणकाजीले पनि त विहे गरेका थिएनन् । छैनन् ।

प्रक्रियामा आइसकेपछि माओवादी माओवादी र जनमोर्चा नेपाल पार्टी एकिकरण भयो । माओवादी केन्द्रमा गिरिराजमणिले केन्द्रिय सचिवालय सदस्यको भूमिका पाए ।०७० सम्म आइपुग्दा उनी माओवादी केन्द्रको प्रमुख सचेतक बनिसकेका थिए । दुई पटक प्रत्यक्ष सांसद जिते, तीन पटक स्वास्थ्य मन्त्री भए ।

‘विहे नभएकोमा म दुःखी छैन । आफ्नो काममा एकनिष्ठ भएर अगाडि बढ्न सहयोग नै पुगेको छ’, अहिले आएर यसरी आत्मसमिक्षा गर्छन् गिरिराजमणि ।

एक त गिरिराजमणि व्यस्त राजनीतिक जीवनमा थिए । अर्कोतर्फ विहे गर्नभन्दा आधारशिला खोल्नतर्फ लागे उनी ।

‘कतिपय साथीहरु होलटाइमर बन्नुभयो । कतिपय जनयुद्धमा मारिनुभयो । थुप्रै नेताहरुलाई आफ्नोभन्दा पनि सन्तानको चिन्ता थियो, ‘छोराछोरीको भविश्य के हुन्छ होला ?’, विहे भन्दा आधारशिलाकै कुरा गर्न मजा मान्छन् गिरिराजमणि, ‘त्यसपछि १८ जना होलटाइमर नेता कार्यकर्ता, सहिदका बच्चाहरु राखेर हामीले सामाजिक सांस्कृतिक रुपान्तरणका लागि आधारशिलाको शुरुवात ग¥यौँ । आजभन्दा १७ वर्ष अगाडि ।’ यति बेलोपछि उनले लामो सास लिए । अनि रुमालले नाक पुछे । उनलाई हल्का रुँघा खोकीले सताएको छ ।

‘आधारशिलामा साम्यवादी, समाजवादी आदर्शको पनि प्रभाव छ । त्यसलाई आफ्नै जीवनबाट किन प्रयोग नगर्ने ? सामुहिक जीवनको एउटा उज्यालो बाटो पनि छ भनेर हामीले आधारशिला शुरु ग¥यौँ’, उनी आधारशिलाकै फेहरिस्त सुनाउँदै छन् ।

तर, मन्त्री गिरिराजमणिलाई विहेबारे नै गिजल्नु छ ।


‘नीजि सम्पत्तिलाई निरन्तरता दिनको लागि पनि परिवारको आवश्यकता हुन्छ’, उनी विहेको शैद्धान्तिक आधारसँग आफ्नो जीवनलाई जाड्दै छन्, ‘आफ्नै रगतले सम्पत्तिको रक्षा गरोस भन्ने पनि विवाहको हेतु हुन्छ । विवाहलाई सुरक्षा कवचको रुपमा पनि हेरिन्छ । तर, मैले मेरो सम्पत्ति आधारशिलालाई प्रदान गरेको छु ।’ तीन परिवारबाट शुरु भएको आधारशिलामा अहिले १५ परिवारसम्म पुगेको छ । महोत्तरीको गौरीडाडाँको १३ कट्ठा जमिनमा फैलिएको छ यो सगोल परिवार ।

‘म मन्त्री हुँदा पनि पैसाको सबै हिसाव–किताव आधारशिलाकै साथीहरुले गर्नुहुन्छ’, पाचौँ पटक मन्त्री बनेका गिरिराजमणि भन्दैछन् । उनको भनाइलाई नै आधार मान्ने हो भने आधारशिलाकै वरिपरि हिडेको छ गिरिराजमणिको जीवन । फुर्सद भयो की उनी आधारशिलामै पुग्छन् । एउटै भान्सामा खान्छन् । चाड पर्वको खुशी आधारशिलामै बाढ्छन् । त्यहीँ बहस गर्छन्, रामाइलो गर्छन् । ‘आधारशिलासँगै गिरिराजमणिको विहे भएको छ’, यसो भन्न मिल्ला की नमिल्ला ?

तर, गिरिराजमणिको अहिलेको उमेर त हजुरबा बन्ने उमेर हो । उनका प्राय दौतरीका छोराछोरी हुर्कीसकेका छन् । कहिलेकाँही साथीहरुको छोराछोरी देख्दा मन कटक्क पो खान्छ की ! जवरजस्ता यति सोधेँ । ‘मानिस सम्बेदनाबाट भाग्न त सक्दैन । हजारौँ वर्षैदेखिको एउटा चिनतन छ । सोंच, संस्कृति छ । यसले कहिलेकाँही छुन्छ नै’, उनको स्वीकारउक्ती आउँछ, ‘राजनीति, आर्थिक आन्दोलन गर्न पनि सजिलो छ त्योभन्दा कैयौँ गुणा गाह्रो छ सांस्कृतिक आन्दोलन गर्न ।’

र, पनि अब गिरिराजमणिले विहे गर्ने छैनन् ।

गिरिराजमणिले भने, ‘अब सकौँ ?’

हुन्छ ।

उठ्नुभन्दा अगाडि भने, ‘फलफुल चाही सक्नुस् ।’ उनको गिलासको आधा पानी चिसो भइसकेको थियो ।

अब उनी हतारिदैछन् ।

गिरिराजमणिलाई भेट्न अर्को टोली पर्खिरहेको छ । उनी बैठक कोठा छिरे ।

नोट : अनलाइनखवर डटकममा प्रकाशित ।
फोटो  : अनलाइनखवर डटकम । 

Comments