श्रीमतिको नजरमा भूपी शेरचन

विश्वास खड्काथोकी

झट्ट खुल्न सकस मानेकी कान्ति घडीको सुईको दौडानसँगै यसरी खुल्न थालिन् कि उनका आँखा नै टिलपिलाउन थाले । ‘साली आधा घरवाली’ भनेर जिस्क्याउने श्रीमान् भूपीलाई सम्झेर उनी कहिले धित मरुन्जेल हाँसिन्, त कहिले झरी पर्न नसकेर आकाशमा अडिएको बादलजस्तै अँध्यारो बनिन् । आफैँलाई बिर्सेर कान्ति यतिवेला ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ अर्थात् भूपीलाई सम्झिरहेकी थिइन् ।
‘राजकुमार कवि’, साहित्य नगरीमा भूपीलाई दिइएको नाम थियो यो । किनकि, जहिल्यै चिटिक्क पर्न रुचाउँथे भूपी । ग्रे कलरको कोट र पाइन्टका सौखिन थिए उनी । जिन्स पाइन्ट लगाएको त त्यति धेरै यादसम्म छैन कान्तिलाई । भन्छिन्, ‘उहाँमा एकदमै डे«स सेन्स थियो । मैले नै आइरन लगाइदिन्थेँ । बाहिर निस्किँदा कोट–पाइन्ट नै लगाइसिन्थ्यो । जिन्स पाइन्ट त कहिलेकाहीँ घरमा बस्दा मात्र हो । विशेष कार्यक्रममा दौरा–सुरुवाल लगाइसिन्थ्यो ।’
भूपीको जिन्दगी भने फिक्का रह्यो, उनको च्वाइस ‘ग्रे कलर’जस्तै । आधा जिन्दगी रोगसँग लडेर बिताए, आधा जिन्दगी सिर्जनासँग । ५३ वर्षको उमेरमै उनको देहावसान भयो । तर, उनका सिर्जना यति चम्किला र कालजयी छन्, मस्तिष्क र मुटु एकैचोटि हल्लाइदिन्छन् ।
प्रेम अनि विवाह
भूपी मुस्ताङ लेतेका थकाली, कान्ति राणा परिवारकी । कसरी भयो उनीहरूको विवाह ? ‘भूपीजीले सधैँ साली आधा घरवाली भनेर जिस्क्याउनुहुन्थ्यो,’ कान्ति भूपी र आफ्नो सम्बन्धको कडीबारे खुल्न थाल्छिन्, ‘हाम्रो परिवारबीच मितेरी नाता थियो । परिवारिक भेटघाट पनि भइरहन्थ्यो । सानो छँदादेखि नै एक–अर्कालाई चिन्थ्यौँ ।’
भूपी बनारस पढेर नेपाल फर्किएपछि भने उनीहरूबीच मायाको अंकुर टुसाउन थाल्यो, झाँगियो अनि विवाह भयो । त्यसपछि त आधा होइन, पूरै घरवाली भइन् कान्ति ।
उनी भूपीसँगको प्रेम दुनियाँमा सयर गर्छिन्, ‘सुरु–सुरुमा त यस्तो बूढोले किन जिस्क्याएको होला भन्ने लाग्थ्यो । हामीबीच १२ वर्षको अन्तर छ । म करिब–करिब १७–१८ वर्षकी हुँदा उहाँले नै प्रेमप्रस्ताव राख्नुभयो । अनि हामी पाँच वर्षभन्दा बढी समय रिलेसनमा रह्यौँ ।’
कान्तिको परिवारले भूपीसँगको लसपस थाहा पाए, दुवैले ठूलो मूल्य चुकाउनुपथ्र्याे । अर्कोतर्फ भूपीको पहिल्यै बिहे भइसकेको थियो । श्रीमती मुस्ताङमै थिइन् । कान्तिका अनुसार भूपीले पारिवारिक करकापमा विवाह गरेका थिए । त्यो एक देखावटी बिहेबाहेक अरू केही थिएन । तैपनि, भूपीको सम्बन्ध स्वीकार्य हुने कुरै भएन । कान्ति भन्छिन्, ‘हाम्रो पाँच वर्षसम्मको सम्बन्धबारे कसैले सुइँकोसम्म पाएनन् ।’
कान्ति भूपीसँगको सामीप्यताको खोजी गर्न थाल्छिन्, खोलाबाट माछा छोप्न लागेजसरी, ‘एकपटक हामी लेकसाइड घुम्न गएका थियौँ । गाडी चढ्ने वेला म गाडीबाट खस्नै आँटेकी थिएँ । उहाँले समातेर बचाइस्यो । मेरो जीवन बचाइस्या छ उहाँले ।’ राणा परिवारकी भएकाले होला, कान्तिले उच्च आदरार्थीले सम्बोधन गर्छिन् ।
भूपीको मीठो बोली र जीवनशैलीबाट प्रभावित थिइन् उनी । सिर्जनाले भूपीलाई चर्चामा ल्याए पनि उनी भने सिर्जनाबाट होइन, भूपीको मिजासबाट अत्मीय बनेकी थिइन् । कान्ति भन्छिन्, ‘भूपीजी त बोलेको पनि गीत गाएजस्तो लाग्थ्यो । म मात्र होइन, सबै आकर्षित हुन्थे उहाँको बोलीबाट । कसैसँग रिसाइसिन्थेन । कुनै दम्भ थिएन ।’
कान्तिले २२ वर्षको उमेरमा भूपीसँग बिहे गर्दा भूपी चार दशकको इनिङमा थिए । बिहेले उनीहरूको बसाइँसराइ गराइदियो । काठमाडौंमा डेरा गरी बस्न थाले, घर थियो प्रेमबहादुर शाक्यको ।
रंगिला भूपी
जब भूपीले बिहे गरे, परिवारलाई निकै समय दिन्थे । छोराछोरीसँगै रमाउँथे । उनीहरूसँगै मजाक गर्थे । घरमै क्रिकेट र तास खेलेर रमाउँथे । त्यतिले पनि पुगेन भने नानाथरीका जोक हाल्थे । कहिले फिल्मको गुन्डा बनेर हँसाउँथे । जोकका त राजै थिए रे भूपी ।
पछि भूपीलाई यस्तो आरोप लाग्यो, ‘भूपीले पैसाजति साथीलाई खुवाएर कंगाल भयो । अहिलेदेखि नै छाड्यो ।’ कान्ति स्पष्टीकरण दिन्छिन्, ‘उहाँले परिवारलाई समय दिन थालेपछि बाहिर खासै निस्किनुभएन । उहाँको त पुख्र्यौली सम्पत्ति थियो, कसरी सकिन्थ्यो ?’

कान्ति रोमाञ्चित हुन्छिन्, ‘उहाँ छोराहरूसँग क्रिकेट खेल्नुहुन्थ्यो । घरको बाहिरतिरको झ्यालको सिसा फुटाएर हैरान । सिसा त कति फेरेँ कति । पछि सिसा नै हाल्न छाडेँ ।’
भूपी बडा गज्जबका थिए । छोरालाई तँ भन्थे, छोरीलाई तिमी । ‘छोरालाई भन्दा छोरीलाई बढी प्राथमिकता दिसिन्थ्यो,’ उनी भन्छिन् ।
रातको दुई बजेसम्म मस्ती
नेपालका केही कलाकार र साहित्यकारका लागि भूपीको डेरा रंगमञ्चजस्तै थियो । सुरु–सुरुमा संगीतकार नारायणगोपाल, अम्बर गुरुङ, हरिभक्त कटुवाल, निर्मला श्रेष्ठ, फत्तेमान राजभण्डारी, शशीविक्रम शाही निकै घनिष्ट थिए । कान्ति ती दिनतर्फ फर्किन्छिन्, ‘उहाँहरू राति–राति आउनुहुन्थ्यो । अनि अबेरसम्म गानाबजाना गरेर बस्नुहुन्थ्यो । घरमा गीतार, तबला सबै हुन्थ्यो । कहिलेकाहीँ त दुई–तीन दिन नै बजाउनुहुन्थ्यो ।’ शुक्रबार आएर आइतबार बिहान फर्केकोसम्म याद छ उनलाई । भन्छिन्, ‘कोही बिहानै जानुहुन्थ्यो, कोही चिया–खाजा त कोही भुजा नै लिएर जानुहुन्थ्यो ।’ कान्तिका अनुसार भूपीले गीत–संगीतमा पनि निकै रुचि राख्थे, तर कहिल्यै गीत गाएनन् । उनको स्वर पनि निकै मीठो थियो । प्रायः सबै बाजा बजाउन जान्दथे ।
साँच्चिकै त्यो पुस्ताले नेपालको कला क्षेत्रमा चमत्कार गरेको थियो । आज उनीहरू कुनै पनि जीवित छैनन् । नारायणगोपाललाई त ठूलो सहयोग गरेका छन् भूपीले । अन्तरजातीय बिहेपछि भूपीले नारायणगोपाललाई तीन वर्षसम्म पोखरास्थित आफ्नो घरमा राखेका थिए । नारायणगोपालले भूपीलाई ठुल्दाइ भन्थे, भूपीले भाइ ।
भूपीको पहिलो पाठक

भूपीले पहिलो शेर कविता लेखे कि त कान्तिलाई सुनाइहाल्थे र सोध्थे, कस्तो छ ? यसरी कि कान्ति कुनै प्रख्यात समालोचक हुन् । तर, साधारण गृहिणी कान्तिले गर्न सक्ने भनेको यत्ति थियो । टाउको हल्लाउँदै भन्थिन्, ‘राम्रै छ । ठिकठिकै लागे, ठिकै छ ।’
त्यतिवेला नेपालका कतिपय पत्रिका उनकै कविताकै कारण बिक्थे । पत्रिकाहरूमा पनि भूपी हट केक थिए । उनले थुप्रै कविता लेखे, तर घुम्ने मेचमाथि अन्धो मान्छे भूपीको आदर्श बन्यो । पहिचान बन्यो । उनका कविता अमर छन्, आजका दिनमा पढ्दा पनि उस्तै सशक्त छन् ।
तर, कुन समय गर्थे उनी सिर्जना ?
कान्ति बेलीविस्तार लगाउन सुरु गर्छिन्, ‘उहाँको त्यस्तो कुनै सेड्युल थिएन । तर, रातको समयमा लेख्नुहुन्थ्यो । लेख्न सुरु गरेपछि रात बितेको पनि पत्तो पाइसिन्थेन ।’ एकछिन रोकिन्छिन्, अनि अनुहारलाई थप मलिन बनाउँदै मसिनो आवाज निकाल्छिन्, ‘उहाँलाई मुड आएपछि दुई थर्मस कफी, दुई थर्मस तातोपानी र चार–पाँच बट्टा चुरोट पहिल्यै तयार पारिदिनुपथ्र्याे । चेन स्मोकर नै होइसिन्थ्यो । पिउँदै लेख्नुहुन्थ्यो । मलाई पनि कहाँबाट निद्रा लाग्नु, जाग्राम बस्थे । चिया–कफी तयार पार्दैमा ठिक्क हुन्थ्यो ।’
उनी भन्दै जान्छिन्, ‘लेखिसिन्थ्यो अनि मन परेन भने च्यातचुत पारेर फालिसिन्थ्यो । कविता नै छ नि, लेख्छन्, च्यात्छन्, फेरि लेख्छन् उनै कवि भूपी शेरचन ।’ कहिलेकाहीँ कान्तिलाई भूपीले कविताप्रतिको धारणा पनि सुनाउँथे, ‘सहित्य धेरै लेख्ने होइन । कवितामा त बौद्धिकता झल्कनुपर्छ, गहन हुनुपर्छ ।’ हुन पनि उनका संख्यामा थोरै, तर गहकिला कविता छन् । कान्तिका अनुसार त भूपीमा दूरदर्शिता थियो, अहिलेको राजनीतिक अवस्थाबारे भूपीले उहिल्यै कविता लेखिसकेका थिए ।
भूपीले पुस्तक पनि उत्तिकै पढ्थे । कान्ति भन्छिन्, ‘उहाँले निकै किताब र पत्रपत्रिका पढिसिन्थ्यो, दिउँसोको समयमा । किताब पढ्दा अंग्रेजी र नेपाली दुईवटै डिक्सनेरी उहाँका साथमा हुन्थे ।’
तीन प्राज्ञ अस्वीकार
एक रात फोन अयो, ‘भूपीजी यसपालि तपाईंलाई नसोधी प्रज्ञा प्रतिष्ठानमा नियुक्त गरेका छौँ । सरकारबाट हुकुम भयो । भोलि एनाउन्स हुँदै छ, रेडियो नेपाल सुन्नुहोला ।’ भूपीले नमिठो मान्दै भने, ‘मलाई नसोधी किन यस्तो काम गरेको ? म प्राज्ञ हुँदिनँ ।’
मुस्ताङ टुकुचेस्थिति भूपीको पुर्खौली घर
विषय प्रस्ट्याउँछिन् कान्ति, ‘मैले नै रातभर सम्झाएँ । या भनौँ कर गरेँ । सबै कविको अन्तिम चाहना नै प्राज्ञ बन्ने हुन्छ । त्यतिवेलाका प्राज्ञको इज्जत नै अर्कै थियो । प्राज्ञ हुनका लागि दर्जनौँ कवि दरबार धाउँथे । उहाँलाई त अफर गरिएको थियो । त्यसैले मैले यसपटक जानैपर्छ भनेँ । धेरै रिक्वेस्ट गरेपछि उहाँले सहमति त जनाइस्यो । तर, रक्सी नखाने मान्छे पनि त्यो रात निकै पिइस्यो ।’
कान्तिका अनुसार भूपीलाई कुनै पदको लोभ थिएन । तर, जब उनी एकेडेमीमा पुगे, उनलाई आरोप लाग्यो– ‘भूपी एकेडेमीमा बिक्यो ।’ उनी खण्डन गर्नतर्फ लाग्छिन्, ‘त्यसअघि दुईपटकसम्म उहाँलाई प्राज्ञ हुन अफर आएको थियो । तर, उहाँले अस्वीकार गरिस्यो । मैले जे देखेँ त्यो लेख्ने हुँ, भन्दै जान मानिसिएन । तेस्रोपटक त उहाँलाई नसोधी नियुक्ति गरिएको हो ।’ थप्छिन्, ‘त्यसअघि वीरेन्द्र जिन्दावाद भन्ने कविता लेखेकाले पनि त्यस्तो आरोप आएको हुन सक्छ । उहाँ कम्युनिस्ट र राजतन्त्रको विरोधी भए पनि वीरेन्द्रको व्यक्तित्वप्रति भने आकर्षित होइसिन्थ्यो । तर, ‘सर्पको खोजी’जस्तो कविता एकेडेमीमै रहँदा लेखिस्या हो ।’
रक्सी होइन, चुरोट पिउँथे भूपी
भूपीसँग जोडिएका रक्सीका किस्सा निकै सुनिन्छन् । यतिसम्म हौवा पिटाइएको थियो कि बेडमाथि ट्यांक राखेर पाइपबाट रक्सी पिउँछन्, अनि पोलिथिनमा बान्ता गर्दै बस्छन् भूपी । धेरै रक्सी पिएर दुनियाँलाई रौस्याउन कविता लेखेका त होइनन् भूपीले ?

उनकी श्रीमती भन्छिन्, ‘रक्सी होइन, चुरोट पिसिन्थ्यो भूपीजीले ।’
उनी थप्दै जान्छिन्, ‘बिहेअगाडि निर्मल लामालगायतको संगत छँदा नौ वर्षसम्म पिउनुभयो । तर, पछि छोड्नुभयो । चुरोट त यति खाइसिन्थ्यो, जति भन्दा पनि छोडिसेन । दिनमै चार–पाँच बट्टाभन्दा बढी सक्काइसिन्थ्यो ।’
कान्ति अझ खुल्छिन्, ‘यतिसम्म गरिसिन्थ्यो कि हस्पिटलमा छँदा स्लाइनपानी काखीमा च्यापेर ट्वाइलेट पुगी चुरोट तानिसिन्थ्यो । त्यसैले पनि घरमै पेटीका पेटी चुरोट ल्याएर राखिदिन्थ्यौँ ।’
उनका आँखा ओसिला बन्छन्, ‘तर, स्वर्गीय हुनुभन्दा दुई महिनाअगाडिबाट भने सबै छाडिस्याथ्यो ।’
आधा घर, आधा हस्पिटल
जब सिर्जनामा कायापलट गर्ने समय आउँदै थियो, भूपी रोगले थलिन थाले । चुरोटले लग्यो भूपीलाई । ०३४ देखि रोगले छोएको भूपीलाई रोगका भाइरसले यसरी एट्याक गरे, त्यसपछिको आधा जीवन त उनले हस्पिटलमै बिताउन बाध्य भए ।
कान्तिका अनुसार सुरुमा डाइबिटिज देखियो, ०३८ तिर फोक्सोमा स-यो । त्यसपछि उनी निकै कमजोर देखिन थाले । झन्–झन् कमजोर बन्दै गए ।
त्यसपछि भूपीको दैनिकी कस्तो भयो होला ?
कान्ति रोकिइनन्, ‘लङ्स डाइगोनिस्ट गरेर देव्रेपट्टिको भाग काट्नुप-यो । त्यसपछि हरेक दिन शरीरबाट एक बोतल लेदो निकाल्नुपथ्र्यो । त्यसपछि ०४२ तिर दमले थिच्न थाल्यो । तैपनि, उहाँले चुरोट भने छोडिसेन ।’
उनले जुन दिन गोर्खा दक्षिणबाहु पुरस्कार प्राप्त गरेका थिए, त्यही रातदेखि भूपी अझ थलिन थाले । त्यसपछि के भो ?
उनी भूपीका झन् कष्टकर दिनतर्फ उक्लिन्छिन्, ‘त्यसपछि हामी आधा घर, आधा हस्पिटल बस्नुपथ्र्यो । कतिवेला हस्पिटल दौडाउनुपर्ने हो, यकिन थिएन । त्यसपछि ४२ वर्षकै उमेरमा ७०–८० वर्षको जस्तो देखिन थालिस्यो ।’
त्यसपछि त सुत्न पनि ‘काकुलाइजर’ खानुपथ्र्यो । दिनमै एक सिलिन्डर अक्सिजन सकिन्थ्यो । सुत्दाखेरि उहाँको घाँटी घ्यार–घ्यार गथ्र्यो । कहिलेकाहीँ राति आवाज सुनिएन भने मुटुले ठाउँ छोड्थ्यो र उठेर हेरिहाल्थँे । उहाँ ०४६ जेठ १ गते टिचिङ हस्पिटलमा स्वर्गीय हुनुभयो ।’

Comments