नारायण गोपालका हितैसी : जसले नारायण गोपालकै मृत्यूको कामना गरे

– विश्वास खड्काथाकी

लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम, सर्यौँ दिनको पानी
लौ सुन म भन्छु मेरो राम कहानी ===

हामी यो गीत सुन्छौँ । तर, आफ्नो जीवन कहानी सुनाउनका लागि नारायण गोपाल हामीमाझ छैनन् । यो गीतका सर्जक तथा संगतिकार गोपाल योञ्जनले पनि संसार छोडिसके, जो नारायण गोपालका मीत हुन् । तर, आज उनै नारायण गोपालको कहानी सुनाउनका लागि कवि तथा गीतकार नगेन्द्र थापा छन् । जसले दार्जलिङमा मक्कलको आगो सँची राखेर नारायण र गोपालको मीत लगाइदिए, जीवनभरको सहयात्री बने, वीर अस्पतालमा नारायणले अन्तिम सास फेर्दा एक्लै टुलुटुलु हेरेर बसे ।
गीतकार नगेन्द्र थापासँग लेखक विश्वास खड्काथोकी ।
एउटा मान्छेको मयाले कति फरक पर्दछ जीन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ ज्यूनुमा===

कुन मोडमा को भेटिन्छ र त्यो भेटले कुन मोड लिन्छ, त्यो धेरैको समजभन्दा वाहिर हुन्छ । नगेन्द्र थापाको पनि त्यस्तै कल्पना बाहिरको भेट थियो नरायण गोपाल र गोपाल यौन्जन । जब उनीहरुले दार्जलिनमा भेटेर केही दिन विताए, अनि लाग्न थाल्यो की, ‘हामी भर्खर भेटेका साथी हुँदै होइनौँ, हाम्रो सम्बन्ध त सदिऔँदेखिको हो ।’ त्यसपछि उनीहरुको सम्बन्धको डोरी कहिल्यै चुडिएन । अहिले पनि नगेन्द्रको मनमै गडेर बसेका छन्, स्वर्गीय नारायण र गोपाल । यो उनीहरुकै मित्रताको कहानी हो ।

नारायण गोपाल भारतको बयोदामा शास्त्रीय संगीत अध्ययन गर्दै थिए । बयोधाबाट उनी दार्जलिन पुगेका थिए । नेपाली साहित्यका धरोहर इश्वर बल्लव र वैरागी काँकईला पनि दार्जलिङमै । उनीहरुमार्फत भेट्ने खवर आइपुग्यो गोपाल र नगेन्द्रलाई, भेटे पनि । 

त्यतिबेला उनीहरुको उमेर अल्लारे थियो, २०–२२ को । नारायण गोपालले पनि दुई चार वटा अल्लारे गीत नै गाएका थिए, हे काछ ठट्टैमा... टाइपका । दार्जलिङमै बसेर गोपालले संगीतको महाशागरमा डुवुल्की मारिसकेका थिए । नगेन्द्रले गीत, कविता लेख्थे ।

अर्को दिन इश्वरबल्लवले नगेन्द्रलाई भने, ‘यी नेपाली संगीतको भोलिका कर्णधार हुन्, मीत लगाइदिऔँ ।’ नगेन्द्रले दुबैलाई मनाए । ७४ वर्षिय नगेन्द्र अहिले पनि उत्तिकै जोसका साथ भन्छन्, ‘त्यतिबेला इश्वर बल्लव, कर्म यौन्जन र म महांकाल डाडाको मन्दिरमा गायौँ । त्यहाँ दौरा सुरुवाल र टोपीमा ठाँटिएर नेपाली पुजारी बस्थे । पहिला मक्क बाल्न लगायौँ । अनि आगोलाई साक्षि राखि दुई जनाको मीत लगाइदियौँ ।’ त्यसपछि नेपाली सुगम संगीतमा नारायण र गोपालको अद्धितिय इन्ट्रि भयो ।
०००
सन् १९६३ तिर हो । नगेन्द्र र गोपाल यौन्जन दार्जलिङको नर्थपोइन्ट कलेजमा पढ्थे । सामान्य साथी थिए । एक दिन जाडो मौसममा यत्तिकै झ्यामा घाम तापेर बसिरहेका थिए । बाहिर एक जनाले एकतारे बाजा रेटिरहेको थियो । गोपालले भने, ‘जाउँ न हामी पनि ।’ ‘उ गएर दाम सोध्यो । चार आना बुझायो र बजाउन थाल्यो’, त्यो दृष्य अहिले पनि नगेन्द्रको बर्तमान बनेर आँखामा झल्झली आउँछ, ‘यस्तो बजायो, यस्तो बजायो, यस्तो बजायो । म ड्रभिट नै भएँ । उप्रति मोहित नै भएँ ।’ 

त्यसपछि कविता मात्र लेख्ने नगेन्द्रले गीत लेख्न थाले । दैनिक कला मन्दिर गएर दुई तीन घण्टा गीत गाउँन थाले । मित्रताको डोरी झन्–झन् कसिलो बन्दै गयो । र, त्यही डोरी भित्र कसिन आइपुगे नारायण गोपाल ।
जवानीमा नारायण गोपालको तस्वीर । 
मीत लगाएको केही समयपछि फेरि नारायण टुप्लुक्क दार्जलिङ आइपुगे । र, उनले भने, ‘रेडियो नेपालले आठ वटा गीत गाउँने कन्ट्रयाक्ट दिएको छ, गीत चाहियो ।’ त्यपछि गोपल यौन्जनले ४०÷५० वाट उत्कृष्ट तयारी गीत संगीत सहित गाएर सुनाए । त्यहाँबाट नारायण गोपालले आठ वटा गीत छनौट गरे । जसमा नगेन्द्रका पनि गति थिए । अनि नारायण गोपाल कलकत्तामा गएर रेकर्ड गरे । ‘ती गीतले नेपाली सुगम संगीतमा बेग्लै प्रभाव छोड्यो । सबैभन्दा बढी बजिने गीत बने’, नगेन्द्रका आँखा ठूला बन्छन्, ‘जुन दिन ती गीत बच्न थाले, त्यही दिनदेखि नेपाली सुगम ंसंगीतको स्वर्णिम काल शुरु भयो ।’ ती बजिने गीतहरुमा तिम्रो जस्तो मुटु मेरो, बेचेर फेरि मलाई नहेर, मेरो गीत म उभेको धुलोले, संगाल घुम्टोहरु सजाउ केशहरु, तिम्रो जस्तो मुटुलगायत थिए । त्यसपछि त कुनै पनि गायक नारायण गोपालको अगाडि टिक्नै सकेनन्,

म त लालि गुराँश भएछु 
बनै भरी फुलिदिन्छु, मनै भरी फुलिदिन्छु

फाँटहरुले कसलाई पुग्छ, भीरमा पनि फुलिदिन्छु
खुशी मात्र कहाँ हुन्छ, पीरमा पनि फुलिदिन्छु
म त लालि गुराँश भएछु ===
०००
१९६७ मा ब्यचलर सकेपछि नगेन्द्र नेपाल फर्कीए । र, नेपालमै अग्रेजी साहित्य पढ्न थाले । नगेन्द्र फेरि गोपालविना नेपाल टिक्नै सकेनन् । ‘मलाई गोपाल यौन्जनको बनी परिसकेको थियो’, यादहरुमा हराउँछन् नगेन्द्र, ‘म तीन महिने जाडो विदामा पनि कहिल्यै घर आइन । हामी हिमालय कला मन्दिर वाहिर रातभर कोइला बालेर चिसो छिडिमा बस्थ्यौँ । गोपाल यौन्जनले संगीत गथ्र्यो, गाउँथ्यो, म सनेर बस्थेँ । दशैँ तिहारमा उसकै बा–आमाबाट टिका लगाउँथेँ ।’ 

नगेन्द्रको दाई सूर्यबहादुर थापा नेपालको प्रधानमन्त्री थिए । आफन्त यतै थिए । सबै पुग्दो थियो । तर पनि गोपालविनाको काठमाडौं नगेन्द्रलाई सार्है न्यास्रो लाग्यो । आफुलाई थाम्नै सकेनन् । दार्जलिङ गए र काठमाडौं ल्याउन गोपाल र उनको आमालाई कन्मिन्स्ड गर्न थाले । मरि गए माने त । तर, पढाईदेखि करिअरदेखिको कुरा गरेर अन्तमा मनाइछाडे । 

उनीहरु के काठमाडौं आउनु, नारायण गोपाल पनि टुप्लुक्क आइपुगे । आत्तिएर नगेन्द्र र गोपालले सोधे, ‘तिम्रो पढाई सक्किन त अझै डेढ वर्ष छ किन आएको ?’

नारायण गोपालको जवाफ थियो, ‘यो कोर्स पुरा गरेपछि म सुगम संगीत गाउँन सक्दिनँ । म शास्त्रीय गायक भएर निस्कन्छु । त्यसैले म भागेर आइपुगेँ ।’ कुरा ठिकै पनि हो । त्यसपछि यी तीनको काठमाडौंमा रजगज चल्न थाल्यो ।

मलाई छोडि मेरो छाया कतै झरेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ

त्यसै कति विते मेरा चिसा चिसा रातीहरु
तातो माया संगालेर खोजीरहे साथीहरु
बैश छदा नपुगेको रातै ढलेछ
तिमीसम्म आईपुग्दा साँझै परेछ===

नारायण गोपालसँगको मित्रता र स्वभावबारे बताउँदै नगरेन्द्र थापा । 
नारायण गोपाल सुगठित शरिरका निकै पुष्ट थिए । रक्सी त उनले जातले नै पाएका थिए । तर, उनले खान मिल्ने चीज कुनै छोडेनन् । चुरोटदेखि गाजासम्म, सुर्तीदेखि देखि अफिमसम्म । नगेन्द्र भन्छन्, ‘यो टेबुल खान मिल्थेन उसले खाएन । धुवा, धुलो, ठोस र तरल पदार्थ सबै खायो ।’ स्वर बनाउन नारायण गोपालले कुनै चीज खाएनन् र छाडेनन् पनि । तर, उनको स्वर कहिल्यै भासिएन । नगेन्द्र आश्चार्य मान्दै नारायण गोपालबारे बोल्न थाल्छन्, ‘लोकल ठर्रादेखि सबैभन्दा राम्रा रक्सी खायो, त्यो पनि रातभर बसेर । उसलाई खशीको मासु मन पर्ने, त्यसमा पनि हेकुला । चिलो, पिरो, गुलियो, अमिलो सब खायो । त्यति गर्दागर्दै पनि बाँकी बचेको उसको स्वर, अनुपम हो, अद्धितिय हो । अनुशासनमा बसेको भए उसको स्वर कस्तो हुन्थ्यो होला Û म इमाजिन नै गर्न सक्दिन ।’

ती दिनमा बडो विन्दास थिए यी तीन । दैनिकजसो भेट हुन्थ्यो । जक्सन हन्थ्यो नयाँ सडक र पीपलबोट । साँझ पर्यो भने ढोका टोलजस्ता पुरानो बजारको डवली र भजन मण्डलीहरुमा घुम्थे । त्यहाँ बुढाहरुले भजन गाइरहेका हुन्थे । हामी नि गाउँ न भन्दै नारायण र गोपला कस्सीन्थे । ‘अब गोपाल यौन्जनले हार्मोनियम समाएर नारायण गोपालले गाउन थालेपछि कस्तो होला ? बुढाहरु ट्वा परेर हेर्थे । अनि उनीहरुले नचिन्दै हिडेर अर्को डवलीमा पुगिसक्थे’, सम्झनाले नगेन्द्रबाट खित्का छुट्छ ।

त्यति मात्र होईन । प्राय बेलुकी बेलुकी नगेन्द्र र नारायण पशुपति घुम्न निस्कन्थे । त्यहाँ नारायणका परिचिति जोगि थिए । देख्ने वित्तिकै जोगिले बोलिहाल्थे, ‘नारायण यहाँ आउँ ।’ अनि चिलिम भरे नारायणको अगाडि टकार्थे । नारायण गोपालले दुई सट हान्थे । ती जोगिले पनि उसरी नै हान्थे । भने भन्थे, ‘ल एउटा गीत गाउँ ।’

नगेन्द्रसाग नारायण र गोपालसँग गाँसिएका सम्झनाहरु जिन्दगीभर भनेर पनि नसकिने छन् । नरायणको किलागलको घरमा पनि पुगिरहन्थे, नगेन्द्र । घरमा उनी प्राय गन्जी र लुंगीमा हुन्थे । सिरानीमा तानपुरा, तवला हार्मौनियम लहरै हुन्थ्यो । ‘म गएपछि उ सोस्सीहाल्थ्यो । अनि भन्थ्यो, सोम आज तिमीलाई हनुमान नाच देखाउछु । अनि तानपुरा समाएर बुरुक्बुरुक उफ्रन्थ्यो । माटोले लिपेको घर उ अफ्रदा थरथरथर हुनथ्यो’, झन् गहिरो गरि हास्छन् नगेन्द्र, ‘उसको हातका बढी औँला त मेरो खुट्टाका जत्रा थिए । एक मुक्का हानेपछि जसलाई पनि ढाल्ने खालको शरिर थियो । एक दुई जनालाई ढाल्यो पनि । हामीले नामनै असनको साँढे भनेर राखिदिएका थियौँ ।’

साँच्चीकै नारायण गोपाल निकै खुला थिए । मनमा जे लाग्यो त्यही गर्थे । जहाँ मनलाग्यो त्यही पुग्थे । चुरोटको त्यस्तै अम्मली जहाँ मन लाग्यो त्यही पीइदिन्थे । मदिराले मात्नको लागि पनि उनलाई कुनै विशेष ठाउँको खोजी पर्दैनथ्यो । हरेक दिन नै खाइदिन्थे । नगेन्द्रकै भाषामा भन्ने हो भने, नारायण मुडी, हठी र एग्रैसिभ थिए ।

एक पटक भूपी शेरचन, गोपाल यौन्जन, नगेन्द्रलगायतको एउटा ग्रुप सँगै पसेर पिउदै थिए । बाटोमा फर्कने बेला कसैले निकै रफ बोल्यो । नारायणको मुक्का बर्सीहाल्यो । तर, उसले छेल्यो बक्सीङ भूपीको टाउकोमा बर्सिया । उनी थचक्कै भए । अर्को विहान हेर्दा भूपीको निधारमा अम्बा फलेको थियो । ‘उसले गाउँदा गाउँदै पनि कसले केही भन्यो भने सिधै जुध्न आइजा भन्ने हो । छेउमा कन्टोल गर्ने मान्छे छैन भने उसले खाईहाल्छ’, मसिना मसिना कुराहरु पनि खोल्न थाल्छन् नगेन्द्र ।
नारायण गोपालसँग नगेन्द्र थापा ।
तर, नारायण चुरोट र रक्सीको यस्तो अम्बली बनेकी जहिले पनि पिएर गाएका हुन्थे । तर, नपिइकन गाउनै सक्ने थिएनन् भन्न चाही नगेन्द्र स्वीकार्दैनन् ।

पिउदा पिउदै जिन्दगी यो रित्ताउन चाहान्छु म
आज सारा वेथाहरुलाई सिद्धाउन चाहन्छु म...

आफ्ना भन्ने सारालाई आज भुल्न चाहन्छु म
मनका सारा कुरा पोखि आज खुल्न चाहन्छु म..
०००
नगेन्द्रहरु ज्ञानेश्वर आफ्नै डेरा नजिक चिया पिउदै थिए । घाम उदाउन छितिज रातो भएको थियो । त्यहीँ देखा पे, नारायण गोपाल । हातमा कपडाको ट्यांका झुण्डाएका थिए । अनुहार झरिपर्ने बाडलजस्तो थियो । धेरै बेरसम्म खुलेनन नारायण । लामो समयपछि बास्तविकता सुनाए, ‘हेर न विहे गर्न हिडेको एक पैसा पनि छैन ।’

नगेन्द्रले भने, …किन चिन्ता लिएको । १८ हजार त शोबाट बचेको तिम्रै पैसा मसँग ।’

नारायण M त्यतिले त कहाँ पुग्ला ।

२५ हजार हातमा थमाएर दार्जलिन पेमला लामालाई विहे गर्नको लागि पठाए नगेन्द्र र गोपालले । नारायण र पेमलाको सम्बन्ध पत्रमित्रताले जोडेको थियो । त्यतिबेला मोवाइल थिएन, हुलाक चर्चामा थिए । र, पहिला भेटको साइत पनि गोपाल र नगेन्द्रले नै जुराएका थिए ।

नारायाण गोपालको जन्मक काठमाडौंको गुरुवाचार्य धनी परिवारमा भएको थियो । नेवारमा पनि निकै माथिल्लो जात भनिने कुलिन खानदानमा । तर, नारायण र परिवारको सम्बन्ध त्यति लयमा थिएन । अझ पेमलाई विहे गरेपछि त पानी वारावारकै अवस्था भयो । नारायण घरमा टिक्नै सकेनन् । ६–८ महिना भूपी शेरचनले पोखराको आफ्नो घरमा आश्रय दिए ।

त्यसपछि काठमाडौं फर्कीएर नाचघर नजिकैको डेरामा बस्न थाले । साँघुरो कोठा, केही थान पकाउने र खाने भाडा अनि एउटा खाट र ओड्ने ओच्छाउने । अरु त्यस्तो केही थिएन । निकै कस्टकर दैनिकी थियो नारायण दम्पत्तीको । अन्तरजातीय विहेले दिएको सजायँ थियो यो ।

नारायण गोपालले नगेन्द्र थापालाई पठाएको पत्र ।
नारायणको बाको हेटौडामा पनि घर थियो । यो काठमाडौंका उकुसमुकुस झेल्न भन्दा हेटौडा गएर बस्ने निर्णयमा पगे उनी । यसमा बाको पनि पूर्ण समर्थन । तर, नगेन्द्र र गोपालले जानै दिएनन् ।

त्यतिबेला नाचघरको जागिरे थिए नारायण । पेमलाले पनि राम्रा जागिर थालिन् । त्यही बेला नगेन्द्रको नाममा नाचघरको जिएम बन्ने चिठी आयो । तर, उनले नारायण गोपालाइ जिएम बनाए । अनि विस्तारै नारायण दम्पत्तीको दैनिकी सहज बन्दै गयो । नगेन्द्र भन्छन्, ‘श्रीमतिलाई निकै माया गथ्र्यौ । धेरे सुध्रियो पनि । उनीहरु पर्फेक्ट हस्बेन्ड एण्ड वाइफ थिए ।’

यति चोखो यति मिठो दिउला तिमीलाई माया
विर्सनेछन् साराले पुराना प्रेमका कथा...

मेरा सारा जीवन सबै तिमीलाई 
मिठा मिठा क्षणहरु सबै तिमीलाई
मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई
यति चोखो यति मिठो...

नारायण–गोपाल सम्बन्ध विग्रेकै हो ?
नेपाली संगीतलाई हिट गीत र संगीत दिने नारायण र गोपाल जोडिएको ११ वर्षपछि किन सांगेतिक सहकार्य गरेनन् ? अहिले पनि आश्चर्यजनक तरिकाले चासो व्यक्त गर्छन् संगीतकमी पनि । कतिले त सम्बन्ध थिएन पनि भन्छ् । के त्यस्तै हो त ? नगेन्द्र भन्छन्, ‘नारायणले घोषण गरेको पनि होइन । तर, खै किन गोपालको गीत गाएन ।’

नगेन्द्रलाई लाग्थ्यो, यी दुईलाई जति जोल्ट्याएर राख्न सकिन्छ त्यति नेपाली सुगम संगीतको कद उचो हुन्छ ।’ एक अर्का सगीतमा सहकार्य नगरे पनि भेट्दा उस्तैगरि ठट्टा गर्थे । ठट्टामा प्राय केटीका कुरा हुन्थे ।

नगेन्द्रले अनुमान के लगाउँछन् भने गोपालसँग भेटेपछि नारायण विशुद्ध गायक बने । त्यसभन्दा पहिले संगीत पनि गर्थे । त्यसैले नारायणलाई फेरि संगीत गर्नु थियो । त्यसैले पो सांगेतिक सहकार्यको यात्रा टुंगीयो की ! तर, नगेन्द्रले पनि अनुभव गरेको कुरा के भने पछि पहिलेको जस्तो अत्मीयतापनि देखिएन उनहिरुबीच । यसभन्दा बढी कुरा उनीहरुले आर्यघाटमा आफुसँगै जलाए ।

अनि मृत्यूको कामना
नारायण गोपालको जीवनको शब्दकोशमा अनुशासन शब्दावली नै थिएन । त्यसैले उनी रोगले थलिदै थिए । खासगरि उनलाई मधुमेहको समस्या थियो । तर, खानामा निकै सौखिन केही बार्दैनथे । परिणाम २०४७ मा उनको मिर्गौला फेल भयो र पुगे बीर अस्पतालको मृत्यू शैयामा ।

नारायण गोपालको अस्पतालमा डाइलोसिस हुँद थियो । बसन्त चौधरीले किद्नी ट्रान्सप्लान्टको लागि भारतको मदरासमा व्यवस्था मिलाईसकेका थिए । टिकटको चर्चा चलिसकेको थियो । त्यही बेला नारायण गोपालका स्वास्थ्यले ढोका दियो । हृदयघातले हान्यो उनलाई । 

त्यतिबेला नगेन्द्र २४ सै घण्टा हस्पीटलमै हुन्थे । खान मात्र घर पुग्थे । त्यतिबेला पालो दिन उनको पत्नी हस्पीटल पुग्थिन् । त्यो किनभने नगेन्द्रसँग मात्र नभएर परिवारसँग पनि उत्तिकै आत्मीए सम्बन्ध थियो नारायण गोपालको । 
नारायण गोपालका सम्झनामा बगेका आँशु । 
बोल्न त मज्जैले सक्थे नाराण गोपाल । नारायण गापालको जिद्दील मासु दुई टुक्रा, सानो टुक्रा जेरी, आधा सवारी र एक टुक्रा ससेज मात्र खाने सल्लाह थियो डाक्टरको । नारायणले नगेन्द्रसँग भन्थे, ‘हेर न सोम डाक्टरले नखा भन्छ, तर, दियो भने त एक पाउ जेरी र एक पाउ स्वारी चाही अहिले पनि बसेर खान सक्छु ।’ नारायणले बढी नै जिद्दि गरेपछि चाही पछि दुई तीन–चार टुक्रा नै ससेज पाउन थाले । 

झरेको पात झै भयो उजाड मेरो जिन्दगी
निभेको दिप झै भयो उदास मेरो जिन्दगी===


एक दिन अचानक नारायणले नगेन्द्रलाई दुई जना वकिल ल्याउन आदेश दिए । 

नगेन्द्र झोक्कीए ः तिमलाई अहिले किन चाहीयो वकिल । 

नारायण ः मेरो महाराजगञ्जमा भएको प्रोपोर्टि ट्रस्ट बनाएर राख्नुपर्यो र त्यहाँ बच्चाबच्चीलाई अर्केस्ट्रा सिकाएर अर्केस्ट्रा बाधकहरु उत्पादन गर्नुपर्यो ।नेपालमा भ्वाइलिन नै भएन । 

हस्पीटलमा नारायणले गायनकोभन्दा बढी चिन्ता भविश्यको संगीतको गर्थे । अस्पतालमा बस्दा बस्दा उनी बटुराउन पनि थालिसकेका थिए । तर, त्यतिबेला नेपालका मिडियाका मुख्य समाचार नै नारायाण गोपालको स्वास्थ्यबारे हुन्थ्यो । कृष्ण भट्राई, गणेशमान सिंह भेट्न आइरहन्थे ।

हृदयघात भएको एक हप्तापछि फेरि मस्तिष्कघात भयो उनलाई । त्यसपछि उनी मात्र सास फेर्न सक्थेँ । नगेन्द्र मलिन हुँदै भन्छन्, ‘चिकित्सकका अनुसार बाँच्ने कुनै सम्भावना नै थिएन । अवस्था यस्तो आयो की उसको त्यो हालत देखेर मैले नै मृत्यूको कामना गर्नुपर्यो ।’

आँखा छोपी नरोउ भनी भन्नु पर्याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्या छ ===

०००

र, १९ मंसीर, ०४७ मा नारायण गोपालले अन्तिम सास फेरे । जतिबेला उनको उमेर ५१ वर्षको थियो ।

नगेन्द्राको अनुहार अँध्यारो बन्दै जान्छ, …अव चउरमा लास निकाल्नुपर्ने थियो । म यत्तिकै हेरर बसिरहेको थिएँ । बाहिर सडकमा मान्छेको भीड लागिसकेको थियो । शहरमा जनलहर सृजना भैसकेको थियो । ‘डेढ दुई घण्टापछि गोपाल योन्जन आयो । गोपाललाई देखेपछि हामीहरु अंगालो मारेर धेरैबेर रोयौँ’, नगेन्द्र भक्कानिन्छन् । उनको आँशु झरिरहन्छ ।

नारायण गोपालको पार्थिव शरिरमा माल्याअर्पण  गर्दै ।
शबयात्रा र आर्यघाटमा यति मानिस थिए की, विपि पछिको दोस्रो ठूलो जनसागर थियो त्यो । तर, नारायण गोपालको आगोको मुस्लोबाट निस्केको राप र धुँवाल यहि गीत गाएजस्तो लाग्थ्यो

जीवनदेखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर

यहाँ ढुंगा गर्छ इश्वरको अभिनय
यहाँ कुकुर पनि गर्छ मान्छेको अभिनय
कसलाई मान्छे भन्ने कसलाई देव भन्ने
यो परिभाष आज च्यातिएको हेर
म मुर्दा भएको तिमीआज हेर ===

नोट M २०७५ पुष २ गते अनलाइन खवरमा प्रकाशित । फोटो M विकास श्रेष्ठ÷अनलाइनखवर
link : https://www.onlinekhabar.com/2018/12/727507

Comments