घरमा आधा पेट, फेसबुक युट्युवमा भाइरल

  • विश्वास खड्काथोकी


मर्नु छ एक दिन सँधै बाँचीरहने को छ,
कोही गरिव हुन सक्छन्, कोही धनी हुन सक्छ
गरिव भनेर रुनु पर्दैन, धनी भनेर खुशी हुनुपर्दैन
मंगलवार यही गीत रेकर्ड गरे सुनिल, विकास र रविन्द्र बादी । तर, धनी भएकै कारण खुशी हुने अवसर उनीहरुको लागि दुर्लव हो । गरिविले त उनीहरुका बा–आमा पाइला पाइलामा रुनु परेको छ, दुःखी हुनु परेको छ । सुनिल, विकास र रविन्द्र भोग्दै छन् । दुःखी हुनु र भोग्नु फरक कुरा हुन् । दुखी हुनका लागि भोगाइसँग चेतना हुनुपर्छ । र, उनीहरुको चेतना विकासको चरणमा छ ।


विकास(११), रविन्द्र(११) र सुनिल(१२) काठमाडौं ओर्लदा च्याटिएका टिसर्ट, नफाटेका तर खुइलिएका ज्याकेट, स्वीटरसँग थिए । काठमाडौंलाई त्यही चप्पलले टेके, जुन पहिनौदेखि उनीहरुको सारथी थिए । दुई जोर कपडा नहुने उनीहरुका लागि जुत्ता किन्नु पनि महान सपना थियो । तर, काठमाडौं झरेको तीन दिनमै उनीहरुको आउटलुकमा परिवर्तन आएको छ । नयाँ हुट, नयाँ जिन्स पाइन्ट र नयाँ कन्भर्स सुज । यसको सम्पूर्ण जस गायक संम्राट चौलागाइतर्फ ढल्कन्छ । सम्राटले नै त उनीहरुलाई खोजेर काठमाडौं ल्याए र रेकर्डिङ स्टुडियोसम्म पु¥याए । ‘जिन्दगीभर काठमाडौं देखेका थिएनौँ सम्राट दाईले देखाउनुभयो । प्लेन देखाउनुभयो, ट्याक्सी पनि चढाउनुभयो’, तीन जनाले एकैस्वरमा भन्छन् । जसरी उनीहरु एकै सासमा गीत गाउँछन् ।


राराको मजा लुट््न हिडेका यात्रीहरु तल्लो ढुंगेश्वरको लहरे पुल पुग्दै थिए । दुल्लु नगरपालिका–१ को डुंगेश्वर बजार नजिकै थियो । एक हुल बालक पुलनजिकैको जालीमा अडेस लगाएर बसेका थिए । उनीहरुले गीत गुन्गुनाईरहेका थिए । मौरिले भुन्भुनाएजस्तै । यत्रीले भने, ‘ल गीत गाउ त ।’ ती बालकले एकै सासमा गाईदिए, ‘काफल खान्या कुइया, मरुला जुनकीरि....’

 गीत गाउँदा गाउँदै रविन्द्रको आँखा रसिलो बन्दै गयो । रसवरी जस्तै । लाग्थ्यो भक्कानिन मात्र बाँकी छ । ‘बुवाको कस्तो याद आयो, उहाँले सानोमा खेलाएको याद आयो’, ११ वर्षिय रविन्द्र कस्तो भावुक ?

ती यात्रुले मोवाइलमा कैद गरेको भिडियो सामाजिक सञ्जालमा खन्याए । अनि भाइरल भयो त्यो समूह । उनीहरु नै थिए सुनिल, रिवन्द्र र विकास वादी...। समूहका अरु काम खोज्दै भारत लागिसके । ‘त्यति बेला उहाँहरुले केही पैसा दिनुभयो’, सामाजिक सञ्जालको भिडियो हेर्दा सुनिलको मुखबाट अकस्मात निस्कन्छ, ‘हामीले बेलुकी चामल किनेर घरमा दियौँ । आमा खुशी हुनुभयो ।’ उनीहरुलाई भाइरलभन्दा पनि चामल, दालसँग मतलव थियो । गरिवीले नै त उनीहरुलाई गायक बनाएको थियो ।

त्यसपछि सामाजिक सञ्जालमा उनीहरु देखिइरहे । फरकफरक गीतहरुसँग । सुनिलहरुले चामल जुटाइरहे ।

दुल्लु नगरपालिका–१ दैलेखका बादी बस्तीका प्रडक्ट हुन् ज्ञनीहरु । हरियो टिनछाने करिव ३० एकतले घरको बस्ती हो, त्यो । लहरे खोला किनारको झुप्रोलाई बाढीले बगाएपछि सरकारको दयामा छ वर्ष पहिले यो वस्तीको न्वरान भएको थियो । यी तीनै जनाकै खोस्रने वारी छैन, न रोप्ने आली छ  । त्यसैले बाबा आमा विहानै जालिको काममा निस्कन्छन् र त्यही पैसाले जिविका टार्छन् । उनीहरु आफ्नो कथा सुनाउँदै थिए तर, गीतको याद आएछ । उनीहरुले भने दाई एउटा गीत गाउने !

आमा तिम्रो मुहार छ चन्द्रमाको चादनीमा
तिमी विना एक्लै भएको छु मत अगेनीमा

नखाएर भोकै बसी खुवाउथ्यो खोलेसिस्नु
घाउ भाछ छातीभित्र कसरी म तिमीलाई विर्सु
निन्द्रावाट ब्युझे कति पाउछु भनि तिम्रो काख
पाको छैन अझै मैले तिमले जस्तो दिने साथ...

उनीहरुले गीत गाइरहदा संगीतको अभव खड्कीएको थिएन । समान सुर–ताल–लय । तर गीत गाउँदा गाउँदै रविन्द्रको आँखा रसिलो बन्दै गयो । रसवरी जस्तै । लाग्थ्यो भक्कानिन मात्र बाँकी छ । ‘बुवाको कस्तो याद आयो, उहाँले सानोमा खेलाएको याद आयो’, ११ वर्षिय रविन्द्र कस्तो भावुक ?

चार वर्षपहिले उनको बा भारतमा काम गर्नका लागि पुगेका थिए । रक्सी खाएर कुनै पुलमाथि बसेका थिए । ‘पुलबाट चोरले घचेटेर मारिदियो’ बुवाको मृत्यूबारे यत्ति सूचना छ रविन्द्रसँग । त्यसकै परिणाम हुनसक्छ उनीसँग दुई जार लुगा पनि छैन र भाईसँग एक जोर चप्पल पनि ।

कथा विकासको पनि फरक छैन । फरक यत्ति हो, दैवले विसको बाबालाई लुटेका छैनन् । ‘बुवा एक दिन काममा गनुभयो भने ढाड दुखेर १० दिन सुत्नुहुन्छ’, विकासले आफ्नो कथा सुनाउँछन्, ‘आमा विहानै काममा जानुहुन्छ, दुई बहीनी, म र भाई अवेरसम्म भोकै बस्छौँ ।’ उनको १३ वर्षिय दाई दुई वर्ष पहिले नै पैसा कमाउन भारत पुगिसके । तर, न पैसाको पत्तो छ न त दाईको नै । खबर थाहा पाउनका लागि यी तिनै जनाको घरमा मोवाइल पनि त हुनुप¥यो !



सुनिलको बुवा आमाले पनि जाली कै काम गर्ने हो । तर, उनले घरमा भरि बोराको चामल भित्राएको विरलै मात्र देख्छन् । दिनभरी काम । बेलुकी माम । सकियो ।

अव सुनिलले गाउँमा सारथीलाई बोलाए र गीत सिकाउन थाले । त्यसपछि उनीहरुको काम भयो, ‘सडकमा बस्ने, पैसा जम्मा गर्ने ।’ सडकले कलाको पहिचान गराएको भने उनीहरुलाई हेक्कै थिएन । कवि माधवप्रसाद घिमिरेले त्यसै लेखेका होइनन्, ‘ढुंगाको काप फारेर पनि उम्रन्छ पिपल, सृजनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’

उनीहरु स्कुलमा देखिने भनेको पनि औँषी पुर्णिमामा जस्तो हो । भलै सुनिल र विकास ५÷५ र रविन्द्रको दुई कक्षाको हाजिरि कपीमा नाम दर्ज छ । ‘स्कुल जाने ड्रेस नै हुँदैन’, सुनिलको स्वर निरस सुनिन्छ, ‘स्कुल गयौ भने सरले लौरै लौरोले सुम्ल्याउनुहुन्छ ।’ त्यसैले उनीहरु सडकमा गीत गाउँन निस्कन्छन् । सडकले उनीहरुलाई लौरी होइन माम दिन्छ । र, पनि उनीहरुको पढ्ने चाहाना भने ओइलिएको छैन । ‘बरु हामीलाई केही चाहिदैन पढाइदिनुहोस्’, तीन जनाबाटै स्वर निस्कन्छ । फेरि एकै स्वरमा गीत गाउँछन्..

भन्थ्यो आमा नेपालमा दुःख छ
विदेशमा त पैसा को रुख छ
कालो बादल निलो आकाशमा
गयौ आमा चढेर जहाजमा
फक्र्यो बाकसमा...

०००

एक दिन कसैले गीत गाएर पैसा कमाएको देखेका थिए सुनिलले । आइडिया गज्जव लाग्यो उनलाई । गायक डेकेन्द्र थापाको घर नजिकै थियो । डेकेन्द्रसँग सुनिल पनि गाउँथे । अव सुनिलले गाउँमा सारथीलाई बोलाए र गीत सिकाउन थाले । त्यसपछि उनीहरुको काम भयो, ‘सडकमा बस्ने, पैसा जम्मा गर्ने ।’ सडकले कलाको पहिचान गराएको भने उनीहरुलाई हेक्कै थिएन । कवि माधवप्रसाद घिमिरेले त्यसै लेखेका होइनन्, ‘ढुंगाको काप फारेर पनि उम्रन्छ पिपल, सृजनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’

तर, उनीहरुलाई गीत सिक्न सकस थियो । ‘मोवाइल थिएन, पैसा तिरेर अरुको मोवाइलमा सुन्थ्यौँ, टिभीमा गीत हेरेको पनि १० रुपैयाँ तिर्नुपथ्र्यौ’, सुनिलको प्यासन बोल्छ । त्यसपछि उनीहरु कहिले गाडि भित्र गाए, कहिले सडक पेटी त कहिले गाउँ बस्ती । ‘हामी एक पटक कालिकोटतिर गएर तीन दिन बस्यौँ’, विकास भन्छन्, ‘१२ सय रुपैयाँ कमाएर आएका थियौँ । आमाहरु खुव खुशी हुनुभयो ।’ तर, कहिलेकाही गाउँलेहरु लखेट्छन्, तातो पानी छ्यापेर धपाउँछन् र भन्छन्, ‘जा खातेहरु, बादीका बच्चाहरु ।’ विकास रुन्चे स्वरमा बोल्छन्, ‘जसले चोरे पनि हामीलाई नै चोर लगाउँछन् ।’


कठमाडौंबाट गएका थुप्रै कलाकार र सञ्चारकर्मीले उनीलाई आशाको पोको छाडेर आएका थिए । उनीहरुले क्यामेरामा गीत रेकर्ड गरेपछि भन्थे, ‘राम्रो गाउदा रैछौ । हामी छिटै तिमीहरुलाई लिन आउछौँ ।’ सुनिल ङिच्च पर्छन्, ‘कतिले भन्नु भयो कोही आउनुभएन । कृष्ण कँडेल पनि आउनु भएन ।’

०००

काठमाडौं कस्तो छ ? उनीहरुको जवाफ हो, ‘राम्रो ।’ अव एक दुई दिनमै राम्रो काठमाडौंलाई विदाई गर्दैछन् सुनिल, रविन्द्र, विकास ।

अव, घर गएपछि के गर्ने ?

‘सडकमा गीत गाउने’, उनीहरुसँग रेडिमेट जवाफ छ ।

उनीहरुको यस्तो जवाफ दिने अर्को कारण भनेको सडकबाट पैसा फलाएर नलिए कहिलेकाँही भोकै पनि बस्नुपर्छ । जसरी कुनै दिन सुनिल सात रातसम्म आधा पेट बस्नुपरेको थियो । झुपडीबाट सामाजिक सञ्जालसम्म छाउन पुगेका सुनिल, विकास र रविन्द्रको जीवनभर गीत गाउने चाह छ । हिजो सडकबाट रामकृष्ण ढकालहरु जन्मीए । आज प्रेम परियार र अशोक दर्जी आएका छन् । प्रतिभा जहा पनि हुन सक्छन् । अभाव त अवसरको हो । हो, सुनिल, रविन्द्र र विकास बादीलाई मात्र अवसरको खाँचो छ ।

– ८ फगुन, २०७५ मा www.onlinekhabar.com  मा प्रकाशित ।

Comments