'मेरो मृत शरिरसँगै सारंगी पनि सुताइदिनु '


- विश्वास खड्काथोकी

सानो छाप्रो । तीन वटा कोठा छन् । मिनीस्कुल जस्तै लाग्छ त्यो छाप्रो । एकसरो इट्टाले धानेको छ टिनको छानो । भूकम्पपछि भत्कीएका घरले दिएका ‘सेकेण्ड हेन्ड’ दर्बाजा । दर्बाजाका निलो इनामेल कोटरिएका छन्, मैलीएका छन् । दर्बाजा बाहिरबाटै देखिन्छ भित्रको पुरानो १४ इन्चे टिभी । सुत्नका लागि एउटा खाट, त्यसैमाथि यत्रतत्र छरिएका छन् कपडाहरु । छेउमा टिनकै दराज छ । भूँइको कार्पेटमाथि गलैचा छ । त्यसैमाथि थचक्क बसेका छन्, वर्ता र उनका श्रीमान विनोद गन्दर्व । बर्ताकै छेउमै छन् पाँच वटा सारंगे । त्यही सारंगीको धुनले गर्दा ठडिएको हो किर्तिपुरको त्यो छाप्रो ।



उनी डेराबाट त्यो छाप्रोमा सरेको छ महिना मात्र पुगेको छ । हेर्दा छाप्रो देखिए पनि त्यो बर्ताको लागि कुनै अलिशान महलभन्दा मुल्यवान छ । आफ्नो मेहेनतले आर्जेको त्यो छाप्रोमा वर्ता निकै खुशी देखिन्छिन् । उनी यसकारण पनि खुशी छिन्, उनको औँलाले रेटेको सारंगीको धुनले फलाएको पैसाले शिलन्यास गरेको हो त्यो छाप्रो । र, सारंगीसँग वर्ताको आँशु, हाँसो, पीडा, उत्साहा, मेहेनत, सर्पराइज सबै लुकेको छ ।
....

यस्तो लाग्छ वर्ता शरिर हुन् र सारंगी उनको फोक्सो । वर्ताले संसारमा सबैभन्दा बढी कसैलाई प्यार गर्छिन् भने सारंगीलाई नै गर्छिन् । त्यसैले होला उनले रेटेका सारंगीको धुनले गर्दा कैयौँका आँखा रसाएका छन्, कति मन्त्रमुग्ध बनेँका छन्, कति धुनभित्र डुवेका छन् । नेपालका मात्र होइन नर्बे, चीन, स्वीडेन, थाइल्याण्डलगायत ठाउँका मानिसहरु पनि उनका सारंगीको धुनमा डुविसकेका छन् ।

सारंगीप्रति जती खुशी छिन् उनी, सानो छदा त्यत्तिकै दुःखी थिइन् । संरङ्गी देख्दा पनि तर्सेर छिमेकीको घरमा लुक्न पुग्थीन् । गलैचाँमा बसेकी वर्तालाई सानो छदाको सम्झनाले जन्मघर भोजपुरस्थित जरायोटार पाल्पाने पु¥याउँछ । उनको अनुहार एकाएक मलिन बन्छ, ‘आठ वर्षको उमेरबाटै मैले सारंगी रेट्न थालेकी हुँ । मेरी आमाले सारंगी समाउन बाध्य बनाउनुभयो ।’

गन्धर्व परिवारका भएकोले वर्ताका बुबाले डम्बरबहादुरले सारंगी रेटेर आफ्नो परिवार पालेका थिए । उनका वुवा सारंगी समाएर कहिले संखुवासभा, खाँडवारीतिर पुग्थे, कहिले सिक्कीम दार्जलिङमा पुगेर एक महिना हराउँथे । अनि ४÷५ हजार रुपैयाँ बोकेर घर फर्कन्थे । उनको कामनै त्यही थियो, गाउँ, शहर पुगेर सारंगीको स्वरमा गीत गाउँदै मनोरञ्जन दिने र दाया गरेर ल्याएको पैसाले घर चलाउँने । एक पटक सिक्कीमतिर पुगेका वर्ताका बुवा लामो समय घर फर्केनन् । बुवा हराएसँगै परिवारमा ठूलो संकट प¥यो । घरमा खाने खर्च भएन । त्यतिबेला बर्ता आठ वर्षकी थिइन् र उनकी आमा २२ दिने सुतकेरी थिइन् ।

उनकी आमा चीजा मायाले सारगीं खोजेर आठ वर्षे छोरीको हातमा थमाइदिइन् । उनि भनिन्, ‘हिँड अब तिमीले सारंगी बजाउँनुपर्छ । अनि खर्च लिएर खानुपर्छ ।’ वर्तालाई सारंगी बजाउन त आउने थिएन, तर, आमाले करकापमा परेर रेट्न वाध्य थिइन् । वर्ताका कलम समाउने कलिला हातले अब ‘धनु’ रेट्न थालेका थिए ।

उनको आमाले थुन्सेमा बच्चा राखे । त्यसैमा ओड्ने ओच्छाउने कपडा पाको परे । अनि वर्तालाई सारंगी बोकाएर गाउँ निस्कीए । वर्ता दुःखको दिन सम्झीन्, ‘पहिलो पटक सारंगी बोक्दा म निकै रोएकी थिएँ । भाग्न खोजिकी थिएँ । तर, आमाले कर लगाएर हिँडाल्नुभयो ।’

त्यो चिसो मौसममा लगलग काप्दै उनीहरु गाउँ डुले । वर्ताले नजानेरै भए पनि आमाको डरले सारंगी रेटिन् । गाउँलेहरुले दयाँ गरेर पैसा दिन्थे, कसैले चामल । ‘कसैले पनि गुन्द्री दिदैनथे । भुइमै सुत्थ्यौँ’, वर्ता भन्छिन्, ‘भोकै पेट डुल्थ्यौँ, जंगल भेटियो भने बल्ल खाना पकाएर खान्थ्यौँ । एक हप्ता त्यसरी नै घर बाहिरै बिताउथ्यौँ ।’

कतिले वर्ताको आमालाई गाली गर्थे । ‘आठ वर्षको वच्चालाई यसरी दुःख दिएकी, हेर पीठ्यूमा कसको बच्चा बोकेकी ?’ भन्दै आरोप पनि लगाउँथे । कतिले कठैबरा भन्दै दुई चार पैसा र चामल पनि दिन्थे ।

एक हप्तामा घर फर्कीन्थे र फेरि गाउँ डुल्न निस्कन्थे उनीहरु । वर्ता सारंगी छुनै मान्थिनिन् । तर, उनको आमाले लौरो नै लगाउथिन् । घिच्याएर हिँडाल्थीन् । त्यो सम्झनाले वर्ता आँखा ओसिलो पार्छ । आँशुलाई गलामा रोक्ने दुश्प्रयास गर्दै खुल्न थाल्छिन्, ‘नजाने पनि च्याँच्याँ चुँचुँ पार्थे । कसैले पाँच रुपैयाँ हाल्दियो भने अहो ! कति धेरै पैसा भन्दै हामी मख्ख पथ्यौँ । कतिले त नाङ्लाभरी दान दक्षिणा राखेर पनि दिन्थे ।’

‘आमाले त्यसरी थुन्सेभरी भाडाकुडा, सामान, बच्चा कसरी बोक्न सकेकी होलीन् ?’ अहिले पनि अचम्म पर्छिन् वर्ता । उनीहरुको दुःख यतिमा मात्र सिमित छैन । आफ्नै गाइने दाजुभाईहरुले पनि दुःख दिन्थे उनीहरुलाई । वर्ता टिनको छानातिर हेर्दै भन्छिन्, ‘गउले दाइहरु कता हाम्रो पछिपछि आउँछे भनेर अगाडि अगाडि दौडन्थे । हामीले भेट्न खोज्थ्यौँ, उहाँहरु हतार हतार अझ पर पुगिसेका हुन्थे ।’

सारंगीसँगै खेल्दा खेल्दै वर्ता मिठो धुन निकाल्ने हुन थालिन् । ६ महिनाको अवधिमा गीत पनि गाउन सक्ने भइन् । सारंगी बजउँदै वर्ताले गाउन थालिन्, ‘बसन्त ऋतुले छाएछ, हेरन चापा र गुराँस क्यारोम्रो फुलेछ, जान्न मत विदेश लाहुर ।’ त्यो गीत गाउँन र सारंगी बजाउन कसरी जानिन् बर्ता ? उनी आफै अनविज्ञ छिन् । भन्छिन्, ‘भगवानले दिनुभयो होला ।’

बर्ताले गाउँन र गीतको लयमा सारंगीको धुन निकालन थालेपछि उनीहरुको आम्दानी पनि बढ्यो । सानी फुच्चीले गाएको सुन्दा कतिले आँशु पनि खासाल्थे । अनि खुसी हुँदै चामल, धान, पैसा दिन्थे । ‘एक महिनामा तीन चार सय रुपैयाँ पैसा र चार÷पाँच पाथी चामल हुन्थ्यो’ वर्ता एकाएक खित्का छोड्छिन्, ‘मैल नै बोराको झोलामा चामल बोक्थेँ । सारंगी समाउदै आमाको पछि पछि लाग्थेँ ।’

दुई वार्षपछि वावा घर फर्कीए । अनि आमासँग होइन बाबाको सारथी भएर सारंगी बजाउँदै गाउँ डुल्न थालिन् वर्ता । बाबाले सरंगी बजाउथे, वर्ता गाउथिन्, ‘माइती किन जादैछौ टाढा गाउखरै विर्से, गुरासैँ फुल्यो पहाडी लेकैमा सयपत्री फुल्य पहाडी गाओइमा.. ।’

...

एक पटक वुवासँगै वर्ता टुम्लिङटार एयरपोर्टसम्म आइपुगे । त्यहाँ वर्ताले गीत गाएको गोपाल सिवाकाटीले सुनेछन् । उनी अधिवक्ता थिए । सिवाकोटीलाई वर्ताका स्वर मिठो लागेपछि वर्ताको बुवालाई भनेछन्, ‘छोरी काठमाडौं लिएर आउनु ।’

बुवाले काठमाडौंस्थित सिवाकोटीको घरमा ल्याएर छोडिदिए र भोजपुर फर्कीए । टुम्लीङटार एयरपोर्टको यात्राले वर्ताको जीवनमा नयाँ मोड ल्याइदियो ।

उनी स्कुल जाने थालिन् । सिवाकोटीको घरको पनि सबै काम भ्यउँथिन् । केही महिनापछि शिवाकाटीले वर्तालाई लगेर जनकराज तुलाधरसँग पुगे । अनि जनकाराजले स्कलरसिपमा वर्तालाई एसएलसीसम्म पढाउने भए ।

उनी होस्टेलमा बस्न थालिन । यसै त उनलाई घर छोडेकोमा न्यास्रो लागेका थियो । स्कुलजादा उनलाई देखेर साथीहरु हाँस्ने गर्थे । एक दिन स्कुलमा गीत पनि गाएकी थिइन् उनले । तर, त्यो गीत सुनेर सबै साथीहरु खुब हाँसे । किनकी पप, डान्सीङ गीतहरु सुनथे उनका साथीहरु । साथीहरुको यस्तो व्यवहारले उनी अझ एक्ली बनेकी थिइन् ।

उनले एसएलसी दिदासम्म घरकाले कहिल्यै सोधी खोजी गरेनन् । दशैँ तिहरको बेला त पुरै होस्टेलमा एक्लै हुन्थिन् बर्ता । यसरी नै उनले यसएलसीसम्मको अध्ययन पुरा गरिन् ।

अब कता जाने ?

फेरि उनले शिवाकोटीलाईनै सम्झिइन् । सोधी खोजी गर्दै उनकै घर पुगेर शिवाकोटीसँग भनिन्, ‘ काम मिलाइदिनुप¥यो सर, मलाई कलेज पढ्न मन छ ।’ यतिबेलासम्म उनले सारंगीलाई विर्सिसकेकी थिइन् । तर, कितले उनलाई म्युजिक पढ्न सल्लाह दिन्थे ।

०६२ सालतिरको कुरा हो, रिसेप्सनमा जागिर पाइन वर्ताले । तलव थियो १५ सय रुपैयाँ । अनामनगरमा डेरा लिइन् र ललितकलामा भर्ना भइन् । छ महिनापछि फेरि नको जीवनमा नयाँ मोड अयो । उनी त्यो मोडबारे सुनाउन हतारिन्छिन्, ‘एक जना नागरिक मेरो अफिस आउनुभएको रहेछ । उसलाइ एउटा डकुमेन्ट्रिको लागि व्यागराउण्ड म्युजिक चाहिएको रहेछ । सरंगी बजाउने थाहा पाएपछि मलाई त त्यो काम दियो । मैले त गीत नै बनाएँ, ‘गरिव भई जन्मनु प¥यो, दासी भै बाँच्नुप¥यो ।’

जव त्यो नागरिकले उनको सारंगीको धुन र गीत सुन्यो । त्यसपछि निकै प्रभावित बन्यो । त्यसबापत उसले हारवानियम किनिदियो । त्यो सम्झदा उनी अहिले पनि उत्साहित बन्छिन्, ‘मेरो हातमा हारवानियम ! मैले त्यो हारबानियम रातभरी समाएर सुतेकी छु ।’ जापानीज नागरिकले वर्ता यतिमात्र गरेनन् । वर्ताको करिअरमै नयाँ मोड ल्याउने लिंकमा जोडाए ।

ती जापानिज नागरिकले एक दिन वर्तालाई भेट्न बोलाए । त्यो भेटमा कुटुम्ब ब्याण्डकी नयनतारा गुरुन कक्षापति पनि सँगै थिइन् । कक्षपति कुटुम्वकी म्यानेजर थिइन् । जव वर्ताले कक्षपतिको अगाडि गीत गाएर सारंगी बजाइन्, एकै पटक वर्ताको तीन वटा कन्सटै ‘फिक्स्ड’ भयो । वर्ताले कटुम्बकै स्कुलिङ स्टेज पर्फमेन्स शो गरेलगत्तै एकाएक चर्चामा आइन् । नेपालका राष्ट्रि दैनिकहरुमा ठूल ठूला हेडलाइन छापिए, ‘नेपालकी पहिलो सारंगी वदक ।’ लामो वार्तामा पनि कत्ति पनि बोझ नमानेकी वर्ताले खुशी व्यक्त गरिन्, ‘त्यतिबेला एकसा एक पोर्फेस्नल आर्टिस्टसँग काम गरेँ । तर, मेरो एउटा पनि नोट छुटेको थिएन । मैले कसरी त्यस्तो गर्न सकेँ ? अहिले सम्झदा आफै अचम्म पर्छु ।’

वर्ताको सम्बन्धको दायरा बढ्दै गायो, चर्चाले छितिज चुम्दै गए । पढाइलाई पनि निरन्तरता दिदै थिइन उनले र सांरगी बादनलाई पनि निखार्दै थिइन् । त्यसै समय उनी नेपाल संगीत विद्यालयमा सिक्न थालिन् । विद्यालय गएको चार दिनमै उनले प्रतिस्पर्धाबाट छनोट भएर नर्वेमा सिरंगी सिकाउन जाने अवसर पाइन् । जुन २००७ को कुरा हो । ‘म नर्वे जाने ! मलाई त विश्वास नै लागेका थिएन’, वर्ताले आँखा ठूलो पार्छिन्, ‘पासपोर्ट बनेर टिकेट ओके भइसकेपछि बल्ल विश्वस्त भएँ ।’ त्यहाँ उनले ठूला ठूला कन्सर्टम पनि भाग लिइन् । श्याम नेपाली, रुविन श्रेष्ठ र वर्ता नेपालबाट नर्वेका लागि छानिएका थिए । नेपाल फर्केपछि विद्यालयको शिक्षिका नै बनिन् ।


अव उनको जोडिएको घरसँगको सम्बन्ध पनि गासिँन थाल्यो । नर्वेबाट किनेर ल्याएको नोकिया मोवाइले पहिलो पटक घरमा फोन गरेकी थिइन् । गाडि चढेर आमा, वुवालाई भेट्न घरमै पुगिन् ।

२०१२ मा वर्ता फेरि १० महिनाको लागि सिरंगी सिकाउन नर्वेको एक युनिभर्सीटिमा पुगिन् । त्यसअघि चाइना पनि गइन् । उनी श्रीलंका, थाइल्याण्ड, स्वीडेनलगायतका शहरमा पनि उनका सारंगीका धुन गुञ्जिसकेका छन् ।

वर्ता अहिले पनि संगीत विद्यालयमा पढाउन जान्छिन् । विभिन्न कन्सर्टमा सहभागिता जनाउँछिन् । कहिले कसको घरमा सारंगीको गुरु बनेर पुग्छिन्, त कहिले घरमै रिहर्सल गरेर बस्छीन् । उनलाई अझै पनि काम पुगेको छैन रे । खैर सारंगीले नै उनको जीवनलाई अदलबदल पारिदिएको छ । र, झन् गहिरो सम्बन्ध गाँसिदिएको छ । साँच्ची वर्ताले सारंगी र आफ्नो सम्बन्धलाई कसरी परिभाषित गर्छिन् ? उनको मनछुने उत्तर दिन्छिन्, ‘सारंगीलाई त म यति माया गर्छु । मेरो अन्त्यष्टि गर्दा, मसँगसँगै सारंगी राखिदिनुहोला भन्छु ।’

आज पनि उनीसँग आठ वर्षमा हिँडालेको सारंगी छ । त्यतिबेला उनले आमालाई खुब गाली गरिन्, सरापिन् । तर, अहिले आमानै उनको प्ररणाको श्रोत बनेकी छिन् । भन्छिन्, ‘आमा त्यसरी नहिँडाएको भए कहाँ म सारंगी बजाउन सक्ने हुन्थेँ र ?’ तस्बिरः विनोद विष्ट/नयाँ पत्रिका 
(२०७३ पुस ७ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशीत)



Comments