- विश्वास खड्काथोकी
तर, यो परिवर्तन ‘साना दुःख’ले सम्भव भएको होइन । यसका पछाडि दर्जनौँ कथा छन्, पाइलापाइलामा आइपरेका समस्याका पोका छन् । टेलिभिजन कार्यक्रममा नेताको क्यारिकेचर गरेर सीमित दर्शक हसाइरहेका धुर्मुसको सोचले अहिले एउटा बस्तीमात्र होइन, पूरै नेपालमा खुसियाली छाएको छ भन्दा फरक नपर्ला । सिन्धुपाल्चोकको गिरानचौर भूकम्पले उजाड बनाएको थियो । तर, अहिले त्यो ‘सिन’ बदलिएको छ । अब त्यहाँ देख्न सकिन्छ, एउटा सुन्दर बस्ती ।
अहिले टिभी, सामाजिक सञ्जाल तथा मिडियामा त्यो ‘एकीकृत नमुना बस्ती’को फोटो छ्याप्छ्याप्ती छन् । तर, जहिले बस्ती बनिरहेको थियो, त्यतिवेला यसका ‘निर्माता’ धुर्मुसले टिभी हेर्ने फुर्सद पनि पाएका थिएनन् । घरमा दुई वर्षकी छोरी छाडेर श्रीमती कुन्जनालाई लिएर सिन्धुपाल्चोक पुगेका धुर्मुसले त्यो बीचमा छोरीले खाना खाई कि खाइनँ भन्ने थाहा पाउनु त परको कुरा मोबाइलमै चल्ने फेसबुकसमेत चलाउने समय पाएनन् ।
‘टिभीमा नेताका कुरा त झन् कहाँबाट सुन्नु ?’ अहिले सीताराम सम्झिन्छन् ।
२०७२ साल वैशाख १२ गते । यो एउटा यस्तो मिति हो जुन सायदै कोही नेपालीले बिर्सिन्छ । सीताराम पनि यो दिन बिर्सिंदैनन् । नेपालीलाई दुःखमा धकेलेको यो मिति त धुर्मुसका लागि झन् महŒवपूर्ण छ । ‘त्यो भूकम्प नगएको भए,’ उनी भन्छन्, ‘अहिले गिरानचौर
यस्तो हुँदैनथ्यो ।’
तर, गिरानचौर अहिलेको अवस्थामा ल्याउन भूकम्पको मात्र भूमिका छैन । गिरानचौरको फेरिएको स्वरूपको आधार त धुर्मुसको आँट, साहस र विश्वास हो । जसले जन्माइदियो, धुर्मुस–सुन्तली फाउन्डेसन ।
०००
धुर्मुसको जीवनका दुःख त अनेक छन् । तर, गिरानचौरको इतिहास त्यहाँभन्दा कम दुःखद् छैन । जुन बस्ती ०४६ सालमा आगलागीका कारण खरानी भएको थियो । यो त्यही बस्ती हो जुन ०७२को भूकम्पले नराम्रोसँग ढलेको थियो । जीवनका अप्ठ्यारालाई छिचोलेर धुर्मुस उठेनन् मात्र, उनले ‘संकल्प’ लिएर गिरानचौरलाई
पनि उठाइदिए ।
अहिले गिरानचौरका घरमा ढुंगा÷माटो, सिमेन्ट, रड र टिन मात्र जोडिएका छैनन् । त्यसमा जोडिएको छ, धुर्मुस र उनलाई सहयोग गर्नेको भावना पनि ।
त्यो भावनाको प्रस्थानबिन्दु हो, धुर्मुसको सिन्धुपाल्चोक यात्रा । भूकम्प गएको झन्डै एक वर्षपछि ०७२ साल चैतमा धुर्मुस सिन्धुपाल्चोक पुगेका थिए । धुर्मुसको यो यात्रामा हास्यकलाकारको मात्र अनुभव होइन, काभ्रेमा पहरी गाउँ बनाइसकेको ‘एक्सपिरियन्स’ पनि थियो ।
‘त्यो दिन हामी सोझै जिविस पुग्यौँ,’ उनी पछाडि फर्किन्छन्, ‘सिन्धुपाल्चोकका कयौँ गाउँ भूकम्पले ध्वस्त भएका थिए । तर, गिरानचौर पर्यटकीय गाउँ पनि बन्न सक्छ भन्ने प्रतिक्रिया पायौँ ।’
यसले उनको मनमा हुटहुटी जगाइहाल्यो । उनी एउटा त्यस्तो काम गर्न चाहन्थे जुन नमुना होस् । किनकि कामसँग नाम पनि जोडिन्छ भन्ने धुर्मुसलाई थाहा थियो । जिविस पुगेकै दिन साँझ पाँच बजेतिर धुर्मुस गिरानचौर पुगे ।
त्यतिवेला एकातिर दिनभर तापिलो किरण दिएको अस्ताउँदो सूर्यको किरण चिसि“दै गएको थियो भने अर्कोतिर त्यहाँ पुग्नेबित्तिकै धुर्मुसको मन तातियो ।
‘मैले घरकी छोरीलाई सम्झिएँ,’ उनी अब आफू तातिनुको कारण भन्छन्, ‘त्यहाँ घरका भग्नावशेष मात्र थिए, छेउमै सानासाना झुप्रा थिए । व्यवस्थित चर्पी थिएनन् । र, त्यही फोहोरमा खेलिरहेका थिए, मेरै छोरीजस्ता साना नानीबाबु ।’
छोरीको अनुहारमा भोलिका दिन देख्ने धुर्मुसले त्यहाँका साना नानीहरूको अनुहारमा ‘भोलि’को गिरानचौर देखे । त्यो भोलि अहिले आज भइसकेको छ । गिरानचौरमा ६५ घर ठडिएका छन् । प्रत्येक घरको जगमा धुर्मुसले बोकेका ढुंगा छन् ।
‘तर, सुरुमा त आँटै आएन नि,’ धुर्मुससँग अब दुःखी हुनुपर्ने कारण नै छैन, ‘तर, मैले गाउँलेको सहयोग मागेँ, आँट गरेँ । उहाँहरूले त्यो आँटमा इट्टा नथपिदिएको भए यो सम्भव हुने थिएन ।’
तर, त्यो इट्टा थप्न त्यहाँका स्थानीयले लामो समय लगाए । किनकि धुर्मुसले आफ्नो विश्वासका लागि भरपर्दो जग बनाइसकेका थिएनन् । ‘अब गिरानचौर बनाउनुपर्छ, भग्नावशेष पन्छाउनुस्, म एक सातामा आउँछु भनेर फर्किएको थिएँ,’ धुर्मुस मुसुक्क हाँस्दै भन्छन्, ‘उहाँहरूले त पत्याउनु नै भएनछ । १२ वैशाखमा पुग्दा त म झसंग भएँ– त्यो ठाउँ पहिले जस्तो थियो उस्तै रहेछ ।’
तर, धुर्मुसले गिरानचौर बनाउन यही दिनलाई ‘शुभ’ ठानिसकेका थिए । कामको शिलान्यास गरेर उनी फर्किए । २९ गतेबाट काम सुरु गर्ने लक्ष्यसहित अन्य औपचारिक सिलसिला मिलाउन थाले ।
त्यही सिलसिलाले धुर्मुसलाई फेरि सम्झाइदियो– दुःख र सुखको मिश्रण, हाँसो र आँसुको संगम ।
०००
आफू सुत्ने टेन्ट बोकेर गिरानचौर पुुगेका थिए धुर्मुस । मानौ“, उनले हास्यकलाकारको परिचय यतै कतै काठमाडौंमा छाडेका छन् र नयाँ ‘डकर्मी’को परिचय लिएर त्यहाँ पुगेका छन् । तर, टुल्कीमायाको घर बनिसकेको थियो, धुर्मुसले सँगै लगेको टेन्ट फिजाउनुपरेन ।
‘त्यो दिन त म बिर्सन्न“,’ आफ्नै लयमा धुर्मुस भन्छन्, ‘त्यो त लामखुट्टेको राजधानीजस्तै रहेछ ।’
धन्न, अन्डाको ‘क्रेट’ त्यहाँ थियो र धुर्मुसले राजधानीबाट लामखुट्टेहरूलाई विकेन्द्रित गरिदिए । यो क्रम धुर्मुस त्यहाँ बसुन्जेल रह्यो ।
भोलिपल्ट घाम उदाउँदा÷नउदाउँदै काम गर्न निस्किए धुर्मुस । उनको मनमा थियो, ‘म आफै“
काममा लाग्छु ।’
यो कामका पछाडि अनगिन्ती दुःख थिए ।
उदाहरणका लागि त्यो दिनलाई लिन सकिन्छ जुन दिन धुर्मुस काठमाडौंबाट गिरानचौर जाँदै थिए । फाउन्डेसनका साथीहरूसँग मोटरसाइलकमा जाँदाजाँदै पानी प¥यो । बाटोमा धेरैपटक बाइक पल्टियो, उनी गुल्टिए । ठूलो सपना बोकेका धुर्मुस त्यो घटना सम्झिन्छन्, ‘एकठाउँमा त थचक्कै बसेँ र भनेँ– राम्रो काम गर्छु भन्दा पनि किन दुःख दिन्छौ भगवान् !’
भगवान् हुन्छन् कि हुँदैनन् ?
यो प्रश्नको उत्तर धुर्मुससँग छैन । तर, अहिले गिरानचौरका मानिस भन्छन्– धुर्मुस नै हाम्रा भगवान् हुन् ।
०००
धुर्मुसले जीवनमा नयाँ अनुभव गिरानचौरमै सँगाले । ढुंगा बोक्नु, माटो मोल्नुमा मात्र त्यो अनुभव सीमित रहेन । गिरानचौरका घर बनाउनुभन्दा पहिले ‘चउर’ बनाउन बुलडोजर प्रयोग भएको थियो । साना गाडी चलाउन जानेका धुर्मुसले त्यहाँ पहिलोपटक बुलडोजरको ‘स्टेयरिङ’ समाते र त्यसलाई आफू अनुकूल घुमाए । कहिलेकाही“ त राति १०÷११ बजेसम्म । ‘हो, हामी नसुतेका रात पनि छन्,’ उनी झन्
स्पेसिफिक बन्छन् ।
धुर्मुसले गिरानचौर बनाउन अरू चुनौतीको मात्र सामना गरेनन् । बर्खाको समय भएकाले उनलाई हावाहुरी, पानीपहिरोको पनि समस्या भयो । उनी आफै“लाई यस्तो लाग्थ्यो, मानौ“, प्रकृतिले नै उनको ‘टेस्ट’ लिन खोजिरहेको छ ।
‘त्यो चुनौती थियो मेरा लागि,’ उनी भन्छन्, ‘म होमिएको थिएँ, जस्तोसुकै च्यालेन्ज पनि
स्वीकार्य थियो ।’
त्यसैले, त्यो दिनले पनि उनलाई असर गरेन । यो त्यो दिनको कुरा हो, जुन दिनभर काम गरेर सबै प्लटिङ तयार भइसकेको थियो । तर, साँझ पाँच बजे मुसलधारे पानी प¥यो । धुर्मुस पानी रोकियोस् भन्ने प्रार्थना गरिरहेका थिए । तर, पानी रोकिँदा भोलिपल्ट विबानको सात बजिसकेको थियो । पानी रोकिएपछि फेरि बर्सिन थाल्यो, धुर्मुसको मन ।
‘मलाई भक्कानो छुट्यो,’ उनी भन्छन्, ‘पूरै मिहिनेत खेर गएको थियो, म रोएँ ।’ गिरानचौरको प्लट बिग्रिनुले मात्रै पनि धुर्मुसलाई रुवाएको थिएन । त्यो प्लटसँगै बगेको थियो, खाडी मुलुकमा पुगेका नेपाली दाजुभाइको पसिना पनि । ‘त्यहाँबाट धेरै साथीले यो कामलाई सहयोग गर्न पैसा पठाइदिनुभएको थियो,’ धुर्मुस भन्छन्, ‘पानीले त्यो पैसाको काम पनि बगाइदिएको थियो ।’
तर, उनी पछि हटेनन् । प्रकृतिलाई नै च्यालेन्ज दिन थाले– साँझ पर्न थालेको पानी रोकिएपछि हामी रातभर काम गर्न थाल्यौँ ।
गिरानचौर बनाउन यस्तो चुनौती सामना गरेका धुर्मुसलाई त्यतिवेला राहतको महसुस भयो, जब सिटी एक्सप्रेसले ११ लाख ५५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनको खातामा डिपोजिट गरिददियो । यसले गिरानचौर पुनर्निर्माणको चर्चा मात्र बढाएन, धुर्मुसलाई सहयोग गर्नेको बाढी पनि लगाइदियो । अब यो बाढीलाई वर्षात्को बाढीले रोक्न सकेन ।
सहयोग साउने भेलझै“ यति धेरै उर्लियो कि धुर्मुसले थप पैसा नलिने घोषणा नै गरे । उनले ६५ घर बनाउन लाग्ने पैसा जुटिसकेको बताए । तर, यो घोषणाले मात्रै पनि कहाँ सहयोगी मन थामिए र ?
‘जसरी पनि लिनुस् भन्दै केही आउनुभयो, त्यसमा ताइवानी पनि हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘पाँच करोडको लक्ष्य लिएका हामीले ६ करोड १७ लाख संकलन ग¥यौँ ।’
०००
भनेको समयमा काम पूरा गर्न सकेनन् धुर्मुसले । तर, ६ महिनामा उनले गिरानचौरको बस्ती हस्तान्तरण गरे । त्यसका लागि उनको दैनिकी पहिलेको भन्दा निकै फरक थियो । उनी ३ बजे बिहान उठिसक्थे । त्यसपछि अरूलाई उठाउँथे र काममा लैजान्थे । ८ बजे ‘ब्रेकफास्ट’ लिन्थे, १२ बजे लन्च र ४ बजे स्न्याक्स । उनको डिनर टाइम बन्यो– रातको ८ बजे ।
त्यो काम गर्दा धुर्मुस बिच्छ्यौनामा पुग्नेबित्तिकै भुसुक्कै निदाउँथे । ‘यति थाकिन्थ्यो कि बिच्छ्यौनामा पुगेर केही पनि सोच्न सकिन्थेन,’ उनी अहिले सम्झिन्छन्, ‘सुतेपछि झपक्कै निदाउने र ब्यु“झिएपछि निद्रै नलाग्ने समय थियो त्यो ।’
तर, धुर्मुसको त्यो मिहिनेतको प्रतिफल हेर्न बाँकी नै थियो । यही बीचमा अनेक किस्सा पनि बने । तर, केहीले पनि धुर्मुस डगमगाएनन् । अन्त्यमा ६५ घर मात्र होइन, एउटा रकेटको मूर्ति पनि बनाएर गिरानचौरबाट
धुर्मुस बाहिरिए ।
त्यो बस्तीमा किन रकेट ?
धुर्मुस फर्माउँछन्, ‘रकेटको मूर्ति सांकेतिक रूपमा राखेका हौँ । रकेटकै जस्तो दू्रत गतिमा काम गरे विकास सम्भव छ भनेर देखाउन खोजेका हौँ ।’
०००
अब धुर्मुससँग सम्झना छन्, गिरानचौरका । काम गरेका ती ६ महिनाका । र, त्यहाँका बासिन्दाका, जसलाई उनले काकाकाकी भने, बाआमा भने र भने– मामामाइजू ।
र, यी नातासँग जोडिएको छ– धुर्मुसको सपना । एउटा सपना जसले नेपाल पुनर्निर्माण गर्न सक्ने सामथ्र्य बोकेको छ ।
२०७३/७/२४ गते नयाँ पत्रिका राष्ट्रि दैनिकमा प्रकाशित
Comments
Post a Comment