महावीर दाइको रेस्टुरेन्ट

- विश्वास खड्काथोकी

कुरेको २० मिनेट भइसक्यो । उफ् ! अझै ल्यापटपमा ।

उनकै प्रतिक्षामा छौँ, हामी दुई । उनकै रेस्टुरेन्टमा । रेस्टुरेन्टको नाम पनि बडो अच्छा छ, ‘महावीर दाइको नेपाल कनेक्सन’ ।

अब २० मिनेटसम्म के गर्ने ? राउन्ड टेबलमा बसेर आँखा दौडाउन थालेँ ।

रंगिन ठमेलको एउटा हिस्सा ओगटेको त्यो बन्द कोठामा त्यति ठूलो कोलाहाल छैन । बरु, ल्यापटपका किबोर्डको आवाजले कान टम्म हुन्छ ।

छि¥यो कि आँखा ठोक्किइहाल्ने श्यामश्वेत स्केच छ, महावीर पुनको स्केच । भित्तामा टाँसिएका असरल्ल फोटाले जो–कोहीको पनि मन तान्ने हैसियत राख्छ । फोटोमा अधिकांश दृश्य हिमाली क्षेत्रका र त्यहाँका संस्कृतिका छन् । छन्, महावीरले गाउँमा वायरलेस इन्टरनेट विस्तार गर्दाका दृश्य पनि । फोटोमा डुब्नेहरूलाई एक दिनका लागि अरू काम चाहिँदैन त्यहाँ । माथितिर एउटा प्रोजेक्टर छ । अलि पर कुनामा सोफा । सोफामा बसेर गेस्टहरू इन्टरनेट चलाइरहेछन् । फास्ट इन्टरनेट । महावीर पनि त्यही इन्टरनेटमा व्यस्त छन् । मैले कतिपटक उनीतर्फ नजर दौडाएँ, याद छैन । मैले महावीर र ल्यापटप डिसकनेक्ट भएको हेर्न चाहान्छु, यतिवेला । किनकि उनलाई मसँग कनेक्ट गराउनु छ ।
रेस्टुरेन्टमा महावीर पुनसँग पक्तिकार विश्वास खड्काथोकी ।  
घडीले २० मिनेट काटेर केही सेकेन्ड पार गरेपछि बल्ल उठे उनी । ल्यापटप साथमै लिएर खाली खुट्टै मेरो छेउमा आएर भने, ‘ल भन्नुस् के भन्नुप-यो ?’

प्रतिप्रश्न गरेँ, ‘यो २० मिनेट ल्यापटपमा के गर्दै हुनुहुन्थ्यो ?’

चियर अलि पछाडि सारे । अनि बस्दै भने, ‘वासिङ्टन डिसीमा एउटा राउन्ड टेबल डिस्कसन छ । टेक्निकल मिटिङ । जाने वा नजाने अहिलेसम्म डिसिजन गरेको छैन । सकेसम्म साथीहरूलाई मिलाउन भनेको छु । आउनै पर्छ भनेका छन् । भोलिको मिटिङ छ, अबको दुई घन्टामा डिसिजन गर्नु छ । त्यसैको लागि केही  काम गर्दै थिएँ ।’

उनीमा गफ गर्ने मुड फुराउनु थियो । उनलाई भने अझै ल्यापटपले तानिरहेको छ ।

ध्यान खिच्न अर्को प्रश्न फ्याकेँ, तपार्इंले त रेस्टुरेन्टमै आफ्नो नाम राख्नुभएछ नि, किन ?

दसैँअघि एक दिन यो प्रश्न गर्दा महावीर पुन अझै आफ्नै काममा व्यस्त हुन खोजिरहेका थिए ।

उनले बिस्तारै गफ गर्ने मुड बनाउन थाले । फिस्स अस्वीकारोक्तिको हाँसो हाँसे, ‘होइन, यो त साथीहरूले राखिदिनुभएको हो । खासमा नेपाल कनेक्सन राख्ने कुरा भएको थियो । समस्या के भयो भने, त्यस्तो रेस्टुरेन्ट अर्को पनि रहेछ । त्यसैले साथीहरूले ‘महावीर’ थपिदिनुभयो ।’

अब उनी नामबारे प्रस्ट्याउन थाल्छन्, ‘यसको अर्थ भनेको विदेशीलाई नेपालसँग जोड्ने र नेपालीलाई नेपालसँग जोड्ने, अनि नेपालको प्रमोट गर्ने हो । विदेशीले केही गर्न चाहान्छन् भने उनीहरूका लागि पनि यो प्लेटफर्म हो ।’

रेस्टुरेन्टको खास अभिप्राय त मेनुमै लेखिएको छ, ‘यसबाट जति आम्दानी हुन्छ । त्यो रकम सामाजिक कामका लागि खर्च गर्ने र हिमाली क्षेत्रका क्लिनिक तथा अन्य सामाजिक प्रयोजनमा खर्च गर्ने ।’

मेनुले मात्र रेस्टुरेन्टको सबै अर्थ बोल्दैन । महावीर आफैँ बोल्न थाल्छन्, ‘मैले सन् २००० मा अमेरिकामा यस्तो मोडेलमा रेस्टुरेन्ट खोल्न खोजेको थिएँ । तर, त्यहाँ अनुकूल भएन । यहाँ आइसकेपछि चार वर्षपहिले बल्ल त्यो सपना पूरा भयो ।’

उनी रेस्टुरेन्टको थिमभित्र प्रवेश गर्छन्, ‘यो रेस्टुरेन्ट खानाको लागि र वस्तु बेच्नका लागि मात्र खोलिएको होइन । डिस्कसनका लागि पनि खोलिएको हो । यहाँ आएर मान्छेले आइडिया सेयर गर्न सक्छन् । कतिको अफिस नहुन सक्छ । चार–पाँच घन्टा यसलाई अफिसकै रूपमा पनि प्रयोग गर्न सक्छन् । कसैले कार्यक्रम गर्छन् भने प्रोजेक्टर छ । इन्टरनेट चलाउन सक्छन् । त्यसका लागि ल्यापटपको व्यवस्था गरिएको छ । त्यसबापत कुनै चार्ज लाग्दैन । यो ठाउँ भनेको ‘ब्रेन स्ट्रोमिङ’ हो ।’

धेरैले सोच्न सक्छन्, महावीर पुनको आम्दानीको स्रोत हो, रेस्टुरेन्ट । तर, त्यो पनि होइन । ‘सुरुसुरुमा त कतिले धन्दा गर्न थाल्यो भन्न पनि थाले । पछिपछि धेरैले बुझ्दै गए ।’ गुनासोबाट यसबारे खुल्न थाले, ‘यो रेस्टुरेन्टका लागि मैले गरेको ऋण खोज्ने काम हो । २० लाख रुपैयाँ ऋण खोजेको थिएँ । मेनेजमेन्टको मैले म पनि हेर्दिन । यसको कोर टिम छ । शौरभ ढकाल, किशोर रिमाल, सुजन कर्माचार्यलगायतका साथी हुनुहुन्छ उहाँहरूले हेर्नुहुन्छ ।

मेरा लागि मैले आम्दानी गर्नु छैन । आफ्नो लागि कुनै व्यवसाय गरेको छैन । जागिर गरेको छैन । २५ वर्षदेखि यसरी नै बाँचिरहेको छु । म त समाजसेवी हुँ ।’
‘समाजसेवी’ शब्दको अर्थ महावीर पुनको डिक्सनेरीमा भास्ट छ । उनी भन्छन्, ‘मान्छेले आम्दानी गर्न खोज्यो भने त त्यो समाजसेवी नै भएन नि ! त्यो त व्यवसायी भयो ।’ उनलाई आम्दानी पनि गर्नु छैन रे । बरु कसैले व्यापारी भन्ला भन्ने डर छ उनीमा ।

हरेक चिजलाई नाफा–घाटामा कन्भर्ट गर्ने अहिलेको पुस्ताका लागि यो एउटा जोक सावित हुन सक्छ । भद्दा जोक ।

फेरि अर्को जिज्ञासा । महावीर कसरी बाँचिरहेका छन् त २५ वर्षदेखि ?

उनी निर्धक्क भन्छन्, ‘मलाई साथीहरूले सहयोग गरिरहनुभएको छ । उहाँहरू देशबाहिर हुनुहुन्छ । राम्रो जागिर गर्नुहुन्छ । मलाई सहयोग पनि गर्नुहुन्छ । खर्च पनि कति नै लाग्ने हो र ? महिनामा १५–२० हजार रुपैयाँ त हो नि । तर, सहयोग गरेबापत उहाँहरूलाई केही चाहिँदैन । नामसमेत नबताउनू भनेर भन्नुहन्छ ।’

धेरैका लागि साँच्चिकै ‘साइको’ हुन्, उनी । चाहने हो भने उनले अमेरिकामा बसेर सानका साथ ऐसआरामको जीवन बिताउन सक्छन् । लाखौँको जागिर पाउने हैसियत छ उनीमा । तर, उनले महिनामा १५–२० हजारको हिसाब–किताब गर्छन् ।

बागबजारको एउटा होटेलमा बस्छन् । जहिल्यै चप्पलमा भेटिन्छन् । चप्पल पड्काउँदै काठमाडौंका गल्लीदेखि गाउँका उकाली, ओराली दौडन्छन् । मानौ“, बागबजारका गल्ली र काठमाडौंकै सडक नै उनका लागि न्युयोर्क र वासिङ्टन डिसी हो । नाँगीको पहाड स्विजरल्यान्ड हो ।

उनले जुन चप्पल लगाउँछन्, चर्चाको भाषामा त्यसलाई ‘ब्यालुन चप्पल’ भन्छन् । दौडिन त चप्पलमै दौडिन्छन् । तर, उनको दौडाहा बडो असाधारण छ ।

बाँच्ने र काम गर्ने पनि उनको आफ्नै शैली छ । भन्छन्, ‘म फ्री भएर काम गर्छु । मलाई आर्थिक विषयमा कुनै दुःख छैन । यसरी काम नगरेको भए, सायदै मैले यतिको काम गर्न सक्थेँ होला ।’

उनले आविष्कार केन्द्रको कुरा पनि जोडे, ‘आविष्कार केन्द्रको यस्तै मोडालिटी हो । तपाईंले काम गर्ने हो, आर्थिक चिन्ता गर्ने होइन । किनकि मान्छेले फ्रिल्ली काम गर्न पाउनुपर्दछ ।’

अनि परिवार ?

परिवारबाट पनि उनी नतावमुक्त छन् । भन्छन्, ‘मेरो भाइ जापानमा छ, राम्रो पैसा कमाउँछ । बहिनीले पूरै घर धानेकी छिन् । आमाको पेन्सन आउँछ ।’
०००
फेरि महावीर रेस्टुरेन्टमै फर्किन्छन् ।

उनले सुरु गरेको ‘बे्रन स्ट्रोमिङ’ चालू छ । महावीर पनि चालू छन् ।

कसैलाई भेट्नुप¥यो भने, रेस्टुरेन्टमै बोलाउँछन् । गइरहन्छन् रेस्टुरेन्ट । प्रायः ४ बजेपछि । उनको काम नै इन्टरनेटमा हुन्छ । फास्ट इन्टरनेट चलाउँछन् । फिस्स हाँस्छन्, ‘वल्र्डलिंकले इस्पोन्सर गरिदिएको छ । अरूको तुलनामा फास्ट पनि छ । लाजिम्पाटमा मेरो अफिस छ, तर टाढा भएर अफिस नपुगेको पनि महिनौँ भइसक्यो ।’

रेस्टुरेन्टले जति काम गर्नुपर्दथ्यो त्यति नगरेको उनी आफँै स्विकार्छन् । रेस्टुरेन्टबारे थप खुल्छन्, ‘रेस्टुरेन्टबाट गाउँमा केहीलाई स्कलरसिपमा पढाएका छौँ र केही क्लिनिकमा सहयोग गरेका छौँ । सोचेजति काम किन पनि गर्न सकेका छैनौँ भने भूकम्प र नाकाबन्दीमा घाटा व्यहो¥यौँ । अहिले महिनामा त्यस्तै ५०–५५ हजार रुपैयाँ नाफा हुन्छ । बिस्तारै लोन पनि घटाउँदै छौँ ।’

त्यसपछि उनी ल्यापटप समाएर अघिल्लै क्याबिनतिर हिँडे, म पनि हेलमेट समाएर बाहिरिएँ ।

नोट : सन् २०१६ मा नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित ।

Comments