बाबा !

– विश्वास खड्काथोकी

विहे गरेको चार वर्षसम्म महेशप्रसाद र गीता अवस्थीले सन्तान जन्माएनन् । त्यसैले समाज र आफन्तबाट ओइरिने प्रश्नले उनीहरुलाई गिज्याइरहन्थ्यो – होइन बच्चा त चाडै जन्माउनुपर्छ ।

सन्तानको सुनौलो रहर त उनीहरुले पनि मुटुको कुनामा सजाएरै राखेका थिए । तर, गीताले काठमाडौं बसेर अंग्रेजीमा स्नाकोत्तर पढ्दै थिइन् । महेश बैतडीको आफ्नै रेडियो सञ्चालनमा व्यस्त । त्यसैले, उनीहरुको योजना थियो, ‘मास्टर्स सकिएपछि मात्र सन्तान जन्माऔँला ।’

०७५ मा गीताको मास्टर्स सकियो । लगत्तै पेटमा भ्रुण हुर्कन थाल्यो । सन्तान र श्रीमतिको स्याहारका लागि महेशले तीन चार लाख रुपैयाँ खातामा जम्मा पारिसकेका थिए । गीताको पेटमा भ्रुणले लात्ति हान्न थालेपछि यी दम्पत्तिको खुशी दुई गुणाले बढेर जान्थ्यो । मानिसका धेरै खुशीहरु आफ्ना सन्तानकै वरिपरि परिक्रमा गरिरहेका हुन्छन् ।


नियमित स्वास्थ्य जाँचमा शिशुको अवस्थाबारे अस्पतालले कुनै खराव रिपोर्ट दिएन । तर, गीताले सन्तानको मुख हेर्नको लागि पेट चिर्नुपर्ने भयो । २४ असोज, २०७६ मा पेट चिरेरै गीतले जन्माइन् – छोरा ।

‘पाँच वर्षको प्रतिक्षापछि छोरालाई समाउदा यति खुशी भएको थिएँ की त्यसलाई शब्दमा वर्णन गर्न सक्दिनँ’, महेश सम्झीएरै दंग पर्छन् । तर, शिशु जन्मीएपछि हस्पीटलले भन्यो, ‘बच्चामा सोडियमको मात्रा थोरै कमी छ । एक दिन मेन्टेन गरे पुग्छ ।’

चार दिनपछि हेम्सको बेडबाट निस्कीएर शिशुसहित गीता दम्पत्ति सुकेधाराको फल्याटमा पुगे ।

छोराको आगमनले फल्याटको रौनक नै बैग्लै भएको थियो । बैतडीबाट आमाबा र आफन्त खुशी साट्न काठमाडौं अइपुगेका थिए । हर्षउल्लासमै न्वरान गरियो । छोराको नाम महेशले नै जुराए – शिवान्स अवस्थी ।

शिवान्सले धर्ती टेकेको १३ दिन मात्र भएको थियो । रातको ११ बजेपछि शिवान्स अस्वभाविक रुपमा रुन थाले । कात्र्तिक महिना । छोरालाई चिसो पो लाग्यो की ! उनीहरु शिवान्सलाई सेके, गीताले दुध चुसााइन, न्यानो पारेर सुताउन खोजिन् । अहँ ! शिवान्सको रुवाइ रोकिएन । शिशुको लागि रुनु अभिव्यक्तिको एक मात्र माध्ययम हो । भोक लाग्दा पनि रोयो, रोग लाग्दा पनि, दुख्दा पनि रोयो, पीर पर्दा पनि रोयो । किन रोयो ? अविभावकलाई खुत्याउनै महाभारत ।

अर्को दिन हेर्दा शिवान्सको पेटले अर्कै उचाइ लिइसकेको थियो । एकाविहानै महेश दम्पत्तिले छोरालाई कान्ति बाल अस्पताल पु¥याए । डाक्टरले आकाश्मिक कक्षमा राखेर शिवांसलाई औषधी र सुइ दियो । दुई घण्टा अस्पतालले भन्योे, ‘विरामीको अवस्था अलि जटिल भएकाले एनआइसियुमा राख्नुपर्छ । हामीकहाँ बेड खाली छैन ।’

छोराको रुवाइ रोकिएकै छैन । महेश दम्पत्तिलाई परेन सकस ? एक पटक त भनि हेरौँ । महेशले विनय गरे, ‘सरकारी अस्पताल भनेर विश्वास गरेर आएको कृपया मिलाइ दिनु न ? यति सानो बच्चालाई बोकेर कहाँ कहाँ धाउने ?’

अस्पताल ः अहँ ! मिल्दै मिल्दैन ।


महेशले मात्र होइन राजधानीका सरकारी अस्पतालमा धेरैले बेड नपाएर अकालमा मृत्यूबरण गर्नुपरेका उदाहरणको चाङ लागेका छन् ।

शिवान्सलाई त्रिवि शिक्षण अस्पताल‘टिचिङ’ पु¥याइयो । धन्न टिचिङले भर्ना लियो । एनआइसियुमै राखेर उपचार थाल्यो । महेश दम्पत्तिका ढुक..ढुक.. ढुक.. मुटु ढक्क रोकियो ।

तर, एक दुई दिनदेखि नै बेचैन शुरु भयो । अप्रेशन गरि सन्तान जन्माएकी गीता । छोरालाई छातीमा सुताउने धोका पुरा नहुँदै छोराको प्रतिक्षामा भुँइमा सुत्नु परेको छ । तर, डक्टरले भन्छ – ‘हामी हेर्दै छौँ । आत्तिनु पर्दैन ।’

अस्पतालको चिसो भँुइ । त्यसमाथि कात्तिकको ठिरठिराउँदो महिना । कक्षभरि मान्छे । रात प¥यो की महेश दम्पत्ति ग्यालरीमा कार्पेट ओच्छ्याएर सुतेजस्तो गर्थे । यता गीताको खुट्टा चिसोले सुन्नीएर हात्तीको जस्तो भएको थियो । न उनले आफ्नो छोरालाई दुध चुसाउन पाएकी थिइन् । दुध गान्नीएर अर्को पीडा थपिदिएको छ । छोरालाई भएको चाही के हो ? डाक्टरले कुनै खवर ल्याउँदैन ।

महेशलाई झन् सकस थियो । सुत्केरी पत्नीलाई सम्हाल्नु की छोराको उपचारमा खटिनु ? ‘गीताको अवस्था यस्तो भएको थियो की कुनै शब्द दिदा पनि सम्झिन छाडिसकेकी थिइन् । मात्र रोइरहन्थिन्’, महेश आँशु लुकाउँदै बोल्छन्, ‘म आफै पनि सम्हालिन नसक्ने अवस्थामा पुगेको थिएँ ।’ गीतलाई आफ्नो भन्दा पनि छोराको पीरले गालेको थियो । आमा हुन् नी !

महेश दिनमै कैयौँ पटक डाक्टरलाई सोध्न पुग्थे, ‘डाक्टर साव के भएको रहेछ मेरो बावुलाई ?’ उनलाई डक्टर भनेका भगवान हुन् जस्तो लाग्थ्यो । त्यसैले, हरेक दिन भगवानको चमत्कारको प्रतिक्षाबाट शुरु हुन्थ्यो । तर डाक्टरले रेडिमेड उत्तर मात्र दिन्थे, ‘नर्मल छ । इन्भेस्टीकेशन गर्दै छौँ । केही हुन्छ की भनेर कोशिस गरिरहेका छौँ । त्यस्तो केही भयो भने भन्छौँ ।’

अस्पतालले शिवान्सलाई कहिले एनआइसियु त कहिले आइसियुमा राख्थ्यो । आमालाई दुध दुहेर ल्याउन भनिएको थियो । विहान भयो की गीता सीसीमा दुध दुहेर कक्ष वाहिर कुर्थिन् । उनको दुध फ्रिजमा राखेर नर्सले दैनिक पाँच एमएल पिलाइदिन्थे ।

उता, शिशुको हालत झन खराव भइसकेको थियो । अव पेट मात्र होइन, पुरै शरिर फुलेको थियो शिवान्सको ।

यसरी नै २० दिन कटाएपछि महेशलाई भगवानप्रतिको भरोषा डगमगायो । उनले डाक्टरलाई भने, ‘तपाईहरु सक्नुहुन्न भने भन्नुस् । हामी अर्कै अस्पताल लगेर जान्छौँ । आफ्नै बच्चा अस्पतालको बेडमा तड्पीएको टुलुटुलु हेरेर बस्न सक्दैनौँ ।’ डाक्टर उनी जवाफ दोहो¥याए – कोशीस गरिरहेका छौँ । के भएको हो ठ्याक्कै पत्ता लगाउन सकिरहेका छैनौँ ।’

टिचिङमा अत्यास लाग्दो दिन विताएको एक महिना पुग्न आटिसकेको थियो । अस्पतालले बच्चालाई डिसचार्ज गर्ने सुरसार गर्दै थियो । तर, विरामी बच्चालाई घरमा लगेर के गर्ने ? महेशलाई भाउन्न भयो । डाक्टरसँग भने – रेफर गरिदिनुस् । तपाईको अनुसन्धानले केही त देखायो होला नी ?

डाक्टर – कुनै कारण देखिदैन । कलेजोमा समस्या छ जस्तो देखिन्छ । तर, यो नै अन्तिम सत्य नहुन पनि सक्छ ।

शिवान्सलाई महेश दम्पत्तिले टचिङबाट निकाले । छोराको अवस्था यति खराव भइसकेको थियो की महेशले नाङ्गो आँखाले हेर्न पनि सहास जुटाउनुपथ्र्यौ । गीताले चाही खै कुन आँखाले हेर्ने आट जुँटाइन् !

‘टिचिङ अस्पतालमा हामी जति दिन बस्यौँ त्यति दिन राम्रोसँग खान पनि खाएनौँ, सुत्न पनि सुतेनौँ’ अनलाइन खवरको स्टुडियोमा महेश भावुक बन्छन्, ‘त्यो पुसको चिसोमा गेलरीमा बसेर रुँदै गरेको सम्झदा सपनाजस्तो लाग्छ । जीवनमा यस्तो पनि अवस्था आउँदो रहेछ ।’ महेशले आफ्नो आँशु लुकाउन ओठ र आँखा बङ्ग्याउँछन् ।

०००

महेशले कलेजो सम्बन्धि अस्पतालहरु गुगोलमा खोज्न थाले । र, भेटाए चेन्नइको ‘डाक्टर रेला इन्स्टीच्युट एण्ड मेडिकल सेण्टर’ । कलेजो रोगको लागि नामी अस्पताल । उनले केही डाक्टरहरुसँग खर्चवारे छलफल पनि गरे । सुने की चालिस लाखभन्दा बढी लाग्न सक्छ । तर, उनको खाता रित्तिसकेको थियो । र, पनि छोराले उनको आँट भरिदियो । आफन्तबाट पैसा जुटाउन लागि परे । बच्चाको लागि ‘फिट टु फ्लाइट’ सर्टिफिकेट बनाए ।

सात मंसिरमा महेश, गीता र शिवान्स चेन्नइ उडे । महेश भन्छन्, ‘बाबुको शरिरभरि पानी भरिएर समात्नै नमिल्ने अवस्था थियो ।’ शिवान्सलाई दुध चुसाउनसमेत मिल्दैनथ्यो । १२ घण्टामा एक पटक मात्र पिसाव पास हुन्थ्यो । त्यतिबेला एउटा आमाको मन कति भक्कानिन्छ होला ? हामी कल्पना मात्र गर्न सक्छौँ ।

पाँच घण्टाको यात्रापछि उनीहरु चेन्नई अन्तराष्ट्रि विमानस्थल उत्रिए । रातको १ बजेको थियो । विमानस्थलबाट वाहिरिने वित्तिकै उनीहरुको शरिर  पसिनाले लुछुप्पै भयो । महेश दम्पत्तिले भारत टेकेको पहिलो पटक थियो । मानिसहरु तामिलबाहेक अन्य भाषा न बोल्थे न बुझ्थे । अस्पताल कुन दिसा पर्छ पनि थाहा थिएन महेशलाई । एम्बुलेन्स खोज्न कहाँ जाने ? महेश गीताले इशाराले नै ट्याक्सी खोजे र गुगल म्यापको सहारामा अस्पताल पुगे । अस्पताल पुग्दा घडिले रातको दुई बजाइसकेको थियो ।

अस्पतालले शिवान्सलाई आइसियमै राखेर परिक्षण शुरु ग¥यो । यता महेश–गीता चार दिनसम्म कुर्सीमै बसेर स्वास्थ्य लाभको प्रथना गरिरहे । कुर्सीमै खाए, कुर्सीमै सुते ।

तीन दिनपछि डाक्टर नयाँ खवर ल्याएर आए – बच्चाको कलेजो मै खरावी छ । औषधीले निको हुने सम्भावना पाँचदेखि १० प्रतिशत मात्र छ । तपाईहरुले अस्पताल ल्याउन निकै ढिला गर्नुभयो । त्यही पनि एक हप्ता औषधी चलाएर हेरौँ । ट्रान्सप्लान्ट गुर्नुपर्ने पनि हुन सक्छ ।

महेशले त सोचिसकेका थिए की अव छोरालाई योभन्दा बढी संसार देखाउन सकिदैन होला । फेरि अर्को पनि कुरा सुनेका थिए – कलेजो ट्रान्सप्लाट गर्न एक करोड जति खर्च लाग्छ । त्यति ठूलो रकम कहाँबाट जोहो गर्ने ? महेश आफ्नै लवजमा भन्छन्, ‘मेरो त हार्डफिल भइसकेको थिएँ ।’

र, पनि डक्टरको रिपोर्टले महेशमा आशाको सञ्चार भएको थियो । उनले प्रथना गरेका थिए – हे भगवान ! औषधीले नै निको होस् ।

तर, आफुलाई सुन्ने भगवानलाई चेन्नई पुगेर पनि भेटाएनन् महेश दम्पत्तीले । पाँचौ दिनमा डाक्टरले अर्को नयाँ खवर लिएर आए –बच्चाको कलेजो प्रतिस्थापन(ट्रान्स्प्लान्ट)को विकल्प छैन । जन्मेको १४÷१५ दिनमै ल्याएको भए औषधीले नै निको हुन्थ्यो । त्यतिबेला त्यतिधेरै विग्रीसकेको थिएन ।

डक्टर अगाडि बोले – बच्चा सानो भएकाले अरुले कलेजो दिएर हुँदैन । बाबा या आमाबाटै लिनुपर्छ । त्यसको लागि मेडिकल फिट हुनुपर्छ ।

डाक्टरले खर्चको विवरण पनि सुनाए – अप्रेशन प्याकेजको मात्र साढे २२ लाख आइसी लाग्छ । त्यसभन्दा अघि र पछिका सबै खर्च तपाई आफैले वेहोर्नुपर्छ । शल्यक्रियापछिको तीनमहिनासम्म बच्चालाई हस्पीटलमै राख्नुपर्छ । औषधीको पैसा पनि छुट्टै लिन्छ ।

छोराको कलेजोबारे डाक्टरको एकोहोरो वक्तव्यले महेश–गीताको केलेजो छेउको मुटु छियाछिया भयो । पश्चत्तापले भत्भति पोल्यो । उनीहरुले नेपालको स्वास्थ्य प्रणालीलाई धिकारे । र, सबैभन्दा बढी आफैलाई धिकारे ।

रोइरहेकी गीताले एकछिनपछि अलिकति आँशु रोकेर भनिन्, ‘तपाईले वाहिर फेस गर्नुपर्छ । परिवार हेर्नुपर्छ । केही भैहाल्यो भने समस्या हुन्छ । मैले नै दिन्छु छोरालाई कलेजो ।’ तर, दुई महिना नपुग्दै दुई वटा अप्रशन थेग्न सक्ने अवस्थामा थिएन गीताको शरिर । एकातिर पिरले त अर्कोतर्फ शारिरिक कमजोरीले थिल्थिलो पारेको थियो उनको स्वास्थ्य ।

महेशको परिवारले ५० हजार रुपैयाँभन्दा बढीको कहिल्यै उपचार गरेको थिएन । कुरा ६०–७० लाखको आइसकेको थियो । कतिपयले भन्थे, ‘यति धेरै रकमले त अर्कै विहे गर्न पनि पुग्छ । छोड्दे ।’ ढाडस दिने पनि थिए ।

‘यदि पैसा जम्मा हुन्छ भने छोरालाई बचाउन जुनसुकै अंग पनि दिन तयार थिएँ’, महेश मानवता देखाउँछन्, ‘किरा फट्याग्रा मर्दा त मान्छेले सहानुभुति राख्छ । जन्म दिएपछि यत्तिकै मर्न दिनु हुँदैन भन्नेमा म पुरै ‘कन्मिन्स्ड’ थिएँ ।’

महेशले ऋण खोजेर अप्रेशनको पैसा तयार पार्दै थिए । फेरि तगारो बन्न आइपुग्यो कागज पत्र ।

वडाबाट सिफारिस ल्याउनुपर्ने । त्यसको आधारमा प्रशासनले सफारिस गर्ने । त्यसपछि वीर अस्पतालमा रहेको नेपाल मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने । त्ययसको आधारमास्वास्थ्य मन्त्रालयले पराष्ट्रमन्त्रालई सिफारिस गर्नुपर्ने । अनि परराष्ट्र मन्त्रालयले दिल्ली दुतावासलाई ।

इमेल, फ्याक्स केहीले नमिल्ने । सबै ठाउँमा सक्कली कागजपत्र उपलब्ध गराउनुपर्ने । यसको लागि जति नै छिटो गरे पनि १२÷१५ दिन त लाग्ने नै भयो ।

उता डक्टरले भनेको छ की – हामीले एक हप्ताभन्दा लामो समय बचाउँन गाह्रो छ । महेश अत्तालिन्छन्, ‘कागज पत्रले गर्दा पनि उपचार नहुने भयो जस्तो लागिसकेको थियो ।’

र, पनि महेशले हिम्मत हारेनन् । सबै ठाउँमा आफन्त र चिनेका मान्छेहरु लगाए । तर, डकुमेन्ट नेपाल मेडिकल बोर्डमा आएर रोकियो । किनकी हप्ताको एक दिन सोमबार मात्र बोर्ड मिटिङ बस्दो रहेछ । र, त्यही वैठकको निर्णयपछि मात्र सिफारिस हुने । ‘कागजपत्रको लागि हरेक ठाउँमा विन्ति चढाउनुपथ्र्यौ यसरी हामीले भिख मागिरहेका छौँ’, महेश आक्रोश पोख्छन्, ‘के मानिस हप्ताको एक दिन मात्र विरामी भइदिनुपर्ने । हामीले राज्य भएको अनुभुति गर्न नपाउने ?’

अत्तालिएका महेशले अस्पतालमै पनि विन्ति विसाएका थिए, ‘मेरो नागरिता, लाइसेन्स, पासपोर्ट सबै डकुमेन्ट राख्नुस् । कहाँ–कहाँ औठा छाप गर्नु पर्छ म गर्छु । तपाईहरुलाई कुनै केश लाग्ने छैन । मेरो छोराको अप्रेशन गरिदिनुस् ।’ तर, अस्पताल तयार भएन ।

दिल्लीमासम्मै मान्छे लगाएर भए पनि महेशले आठ दिनमा कागजपत्र तयार पारिछाडे । धन्न महेशको त मान्छे थिए र छोटो समयमै कागज पत्र बनाए । यदि अरु कोही सामान्य मान्छे भएको भए, टुुलुटुलु आफन्त मृत्यू हेर्नुबाहेक अर्को विकल्प रहने थिएन ।

हस्पीटलमा कागजपत्र त पुग्यो । तर, फेरि तामिल सरकारको वकिल, पुलिस, सम्बन्धित अस्पताल र र विरामीको आफन्तबीच पनि सम्झौता हुनुपर्दो रहेछ । महेश पलपल तड्पीरहेका थिए ।

सम्झौताको तेस्रो दिन अस्पतालले शल्यक्रियाको मिति तय ग¥यो । 

०००

महेश कलेजो चोइट्याउन अप्रेशन थिएटरमा छिरे । अब सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी गीताको काँधमा आइप¥यो । शिशु जन्मेको १४ दिनपछि गीतले एक छिन सास फेर्ने फुर्सद पाएकी थिइनन् । आराम र पोषणयुक्त खानाको त धेरै परको कुरा भयो ।

अप्रेशन भयो । महेशले आफ्नो सन्तानलाई गलेजोको टुक्रा दिएर बचाइछाडे । कलेजो मात्र किन ? छोराको लागि महेशले आफैलाई त्याग गर्न पनि तयार पारिसकेका थिए ।

सात दिनसम्म महेश पनि आइसियुबाट निस्कन सकेनन् । एकातिर कलेजोको घाउले असह्या पीडा दिन्थ्यो । त्यो भन्दा बढी छटपटी छोरा र एक्लै बस्नुपर्दाको थियो । महेश भन्छन्, ‘गीतालाई त अर्को दिन नै मलाई भेट गर्न दिएको थियो रे । तर, मलाई केही याद छैन ।’

सात दिनपछि महेश अलिकति पाइला सार्न सक्ने भए । त्यही दिन डक्टरले छोरालाई भेट्ने अनुमति दियो । शिवान्स भेण्टीलेटरमा थिए । महेश ह्वीलचियरको साहाराले भेण्टीलेटरसम्म पुगे ।

शंक्रमणको डरले टाढैमात्र हेर्न दिईएको थियो । महेशले शिवान्सलाई स्पर्श गर्न चाहान्थे ।सोध्न चाहान्थे, ‘छोरा मेरो कलेजोले राम्रै काम गरिरहेको छ नी !’


तर, शिवान्सको सिरदेखि पाउसम्म तार र पाइप जडान गरिएको थियो । आँखामा पट्टी बाँधिएको थियो । सलाइन दिएको थियो । घाँटीदेखि पेटसम्म प्वाल पारिएको थियो । यो देखेर महेशलाई भने मुटु मै प्वाल परेजस्तो भयो ।

अहिले पनि छियाछिया परेको मनले बल्लतल्ल बोल्ने सहास जुटाउँछन् महेश, ‘के देखिएको थियो र हेर्नु । सवै शरिर तार र पत्तीले छोपिएको थियो ।’ दुई महिनाकै उमेरमा यति धेरै सास्ती भोग्ने सायद संसारको दुर्लव शिशुमा पर्छन् शिवान्स ।

१४ दिनपछि शिवान्सलाई भेन्टिलेटरबाट निकालियो । र, पनि छोराको हालत देख्दा महेश– गीतालाई लाग्थ्यो, ‘खै निको होला र !’ डाक्टरको सान्त्वनाले आत्मवलको पारो अलिकति बढाउँथ्यो, ‘बच्चाको स्वास्थ्यमा निकै सुधार आइरहेको छ ।’

सम्बन्धित डाक्टरले नै हरेक दिन एक घण्टा विरामीको आफन्तलाई परामर्श दिन्थे । बच्चाको अवस्थाबारे स्पष्ट पारिदिन्थे । यसैले महेश–गीतालाई सम्हालिन सहयोग पुग्थ्यो ।

सेन्सेटिभ आइसियुबाट शिवान्सलाई अर्को आइसियुमा पु¥याइयो । विस्तारै खुट्टामा लगाइएको लाइनहरु निकालियो । तर, शिवान्सको मुखमा अक्सीजन झुण्डीरहेकै थियो । त्यहाँबाट ९÷१० दिनमा अर्को आइसियुमा पु¥याइयो । त्यतिबेला घाँटीबाट छिाराएको मेन लाइन बाँकी नै थियो । नाकबाट पाइप लगाएर त्यसैबाट फिडिङ गराइएको थियो ।

एक हप्तपछि शिवान्सलाई त्यहाँबाट पनि जेनरल वार्डमा ल्याइपु¥यो ।

२० दिन जति भयो शिवान्सलाई जेनेरल वार्डमा आइपुगेको । अहिले शिवान्सको घाँटीबाट छिराएको मेनलाइन मात्र बाँकी छ । बोटलबाट दुध चुसाउन थालिएको छ । पेटमा चिरेर सिलाएको लामो दाग देखिन्छ ।

तर, अझैसम्म पनि आफ्नो बच्चालाई समाउन पाएका छैनन् महेशले । किनकी डाक्टरले अहिले नै उनको शरिरलाई तौल उठाउन बन्देज गरेको छ । शिवान्सले अलिअलि हातखुट्टा चलाउन थालेका छन् । रुने, हाँस्ने गर्छन् । यतिसम्म देख्दा पनि महेश र गीत खुशीले फुरुक्क बन्छन् । सारा दुःख विर्सन्छन् । डाक्टरले भनेको छ – एक दुई वर्षको हेरचाहा पनि शिवान्स पनि अरुजस्तै सामान्य बन्नेछ ।

४५ दिनको ‘बेड रेस्ट’पछि ३० वर्षिय महेश तंग्रिएका छन् । पैसा जोहो गर्न केही दिनको लागि काठमाडौं आइपुगेका छन् । शिशु र पत्नीलाई चेन्नइमा छाडेर । महेशकै अुनसार अहिलेसम्म करिव एक करोड ऋणले किचिसकेको छ महेश दम्पत्तिलाई । एक करोडको मासिक एक लाख रुपैयाँ व्याज तिर्न सक्ने अवस्था छैन उनीसँग । महेश विनय गर्छन्, ‘सहयोग गरेर भए पनि जिन्दगीभर ऋणमा डुब्नुपर्ने बाध्यताबाट उम्काइदिनुस् । यति गरेर बचाएको छोरालाई पनि केही बनाउनुछ ।’

आफैले कल्पना गर्न नसक्ने जंघार तरेर यहाँसम्म आइपुगेका छन् महेश । साँच्चीकै मडारिएको कालो बाडलभित्र महेश दम्पत्तिको भविश्य हिँडेको छ । महेश अन्तिम बाक्य बोल्छन्, ‘मानिसले यतिसम्म पर्दा पनि आशा लिन सक्दो रहेछ । जीन्दगी मजाग होइन रहेछ ।’

Comments